बेंसीशहरका नगरबासीले नगरपालिकाकाे सेवा प्रवाह, विकास निर्माण र शासकीय काम कारबाहीका बारेमा नगर प्रमुखसंग प्रश्न गरेका छन् ।
बेसीशहर नगरपालिकाले नगरबासीकाे आवाज मेयरकाे जवाफ कार्यक्रम अन्तरगत शुक्रबार बेसीशहरमा गरेकाे सार्वजनिक सुनुवाइमा नगरबासीले नगरपालिकाकाे विकास निर्माणदेखि सेवा प्रवाह र शासकीय काम कारबाहीका बारेमा प्रश्न गरेका हुन् ।
जिल्ला समन्वय समितिको सभाहलमा गरिएकाे सार्वजनिक सुनुवाइमा विभिन्न वडाबाट पुगेका नगरबासीले नगरपालिकाका साथै वडा कार्यालयकाे काम कारबाही, विकास निर्माणका कामकाे बारेमा प्रश्न गरेका थिए । उनीहरूले नगरकाे फाेहाेर ब्यवस्थापन, डम्पिङ साइट, सार्वजनकि जग्गा र कूलाेकाे अतिक्रमण, सडक मापदण्डकाे अन्याैल, बसपार्क ब्यवस्थापन, सडक सीमा अतिक्रमण, संस्कृतिकाे संरक्षण, समानुपातिक आर्थिक तथा समाजिक विकास, याेजना छनाेट लगायतका बिषयमा नगरप्रमुखकाे ध्यानकर्षण गराएका थिए । उनीहरूले ससाना टुक्रे याेजना भन्दा परिणाममुखी याेजना कार्यान्वयन गर्न पनि सुझाव दिए ।

सहभागीले विकासका याेजना बनाउँदा वडाहरूमा भेदभाव गरिएकाे, नगरपालिकासंग सम्बन्धित सूचनाहरू दिन कञ्जुस्याँइ गरिएकाे, नदीजन्य पदार्थकाे दाेहन गरिएकाे, सामुदायिक विद्यालयहरूकाे अवस्था बिग्रदै गएकाे, नगरपालिकाकाे बेरूजु बढेकाे, नगरपालिकामा अनावश्यक कर्मचारी भर्ना गरिएकाे, जनप्रतिनिधिहरूले धेरै सुविधा लिएकाे, सवारी साधनकाे अनावश्यक प्रयाेग गरिएकाे, जथाभावी कर लगाइएकाे र मर्स्याङदी क्याम्पस जस्ता जिल्लाकै धराेहर मानिएका शैक्षिक संस्थाहरूमा भएकाे भद्रगाेलबारे नगरपालिकाले ध्यान नदिएकाे भन्दै नगरपालिका नेतृत्वकाे आलाेचना गरेका थिए ।

सुनुवाइमा नगरबासीहरूले नगरप्रमुख लगायत जनप्रतिनिधिहरूलाइ प्रश्न गर्नुका साथै नगरकाे विकास र सुशासनका लागि सुझाव समेत दिएका थिए । केही सहभागीले विकास निर्माण भन्दा पनि किसानकाे मर्का बुझिदिन अनुराेध गर्दै गाउँघरमा बाँदरकाे आतङ्क फैलिएकाे दुखेसाे गरे ।
सुनुवाइमा बेसीशहरका ११ वटै वडाबाट अाएका नागरिकहरूले गरेका प्रश्नकाे नगरप्रमुख गुमानसिंह अर्यालले उत्तर दिएका थिए । कार्यक्रममा दिइएका सुझावहरूलाइ लिपिबद्ध गरी सुधार गर्नु पर्ने कुराहरू आगामी दिनमा सुधार गरिने कार्यक्रममा बताइएकाे थियाे ।
सहभागीकाे प्रश्नकाे उत्तर दिँदै नगर प्रमुख अर्यालले नगरबासीका चाहना असिमित भए पनि सिमित श्राेत र साधनका कारण धेरै काम हुन नसकेकाे बताए । उनले नगरपालिकामा अनावश्यक खर्च नगरिएकाे भन्दै अाफूहरूले पाउने सेवा समेत नलिएकाे स्पष्ट पारे । उनले विकास र सुशासनका लागि सिंगाे नगरपालिका प्रयत्नरत रहेकाे जानकारी दिए ।
नगरप्रमुख अर्यालले अाफूले अघिल्लाे कार्यकालमा शुरू गरेका याेजनालाइ सम्पन्न गर्न प्रयत्नशील भएकाे र अधुरा याेजना पूरा गर्नुपर्ने दायित्वबाट भाग्न नसक्ने बताए । उनले डम्पिङ साइट मर्स्याङदीकाे किनारमा रहन नहुने तर अर्काे उपयुक्त स्थान नभेटिएकाले समस्या समाधान हुन नसकेकाे बताए । उनले कार्यालयमा बेरूजु बढी देखिए पनि त्याे दुरूपयाेग भएकाे नभइ नियमित हुनुपर्ने अवस्थाकाे रहकाे स्पष्ट पारे । उनले ६–७ वटा वडामा मात्र वडासचिव रहेकाले अन्य वडाका प्रशासनिक काममा अप्ठेराे परेकाे जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरूङले न्यायीक समितिबारे उठेका प्रश्नकाे जवाफ दिएकी थिइन् ।
कार्यक्रममा बेंसीशहर नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो अर्धवार्षिकमा भएका कार्य प्रगतिबारे जानकारी गराइएकाे थियाे ।
सार्वजनिक सुनुवाइले नागरिकसँग दोहोरो संवाद स्थापित गर्न सहयोग पुगेकाे र नगरबासीका रचनात्मक सुझावहरू प्राप्त भएकाे नगर प्रमुख अर्यालले बताए । यसबाट नगरपालिकाका आगामी योजना बनाउन, विकास तथा समृद्धि हासिल गर्न थप सहयोग पुगेकाे उनले बताए ।