बेसीशहर, मंसिर २८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले केन्द्रीय समितिको निर्देशन विपरित उमेदवारहरु सिफारिस गरेको छ ।
केन्द्रीय समितिले जिल्ला कार्य समितिहरुलाई परिपत्र गर्दै प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशीतालाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर लमजुङबाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएका छन् ।
नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गमप्रसाद गुरुङको नाम १ नम्बरमा सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कार्य समितिको वैठकले उमेदवार सिफारिसका सम्बन्धमा सर्वसम्मति जुटाउन नसकि गुरुङसंगै सबै ११ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस लमजुङले केन्द्रीय कार्यालयको गत मंसिर १५ गतेको परिपत्र अनुसार मंसिर १९ गते एक सूचना प्रकाशित गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वचन र २०८२ माघ ११ हुने राष्ट्रिय सभा सदस्यको निर्वचनको लागि आफूले उम्मेदवारी दिन चाहेको प्रत्यक्ष वा समानुपातिक पदमा उम्मेदवारी दर्ता गराउन मंसिर २४ गतेसम्मको समयसीमा तोक्दै नेता कार्यकर्ताका लागि सूचित गरेकाे थियाे ।
सो सूचना अनुसार मंसिर २४ गते गमप्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, तुलसी नारायण श्रेष्ठ, डिकेन्द्र कँडेल, विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ, बृषराज गुरुङ, शैलेन्द्र घिमिरे, शिवराज रिमाल, राजकुमार गुरुङ र सुवोधबाबु चिलुवालले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उमेदवार हुने आकांक्षासहित उमेदवारीमा दावी पेश गरेका थिए ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, रामकृष्ण बराल, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेलले उमेदवारी दावी गरेका थिए । जिल्ला कार्यसमितिले उनीहरु सबै जनाको नाम पनि केन्द्रमा सिफारिस गरिदिएको छ ।
शनिबारको वैठकले राष्ट्रिय सभाका लागि पनि उमेदवार सिफारिस गरेको छ । राष्ट्रिय सभाका लागि गर्जबहादुर गुरुङ, शुभनाथ मिश्र र विष्णुमाया धिताल सिफरिसमा परेका छन् । गत मंसिर २४ गते उनीहरुले राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो दावी पेश गर्दै जिल्ला कार्य समितिमा निवेदन दिएका थिए ।
खबरकुञ्ज