आज नागपञ्चमी । श्रावण शुक्लपक्षको पञ्चमी आजकाे दिन हिन्दू धर्मावलम्बीले विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर नागकाे पूजा गरिरहेका छन् । आजकाे दिन घरको मूल ढाेकामा अष्ट नागकाे तस्वीर राखेर विशेष पूजा गर्ने चलन छ । अष्टनागमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नामका नाग पर्छन् । यसरी नागपञ्चमीमा नागकाे पूजा गरेर घरको मूल ढाेकामा टाँस्दा बर्षभरि सर्पले नडस्ने, घरमा अग्नी र चट्याङको डर नहुने विश्वास गरिन्छ ।
हिन्दू धर्ममा वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्ने चलन चलेकाे हाे । देवादिदेव महादेवकाे कण्ठमा शाेभायमान हुने र भगवान बिष्णुकाे शैय्याकाे रूपमा शेषनाग रहने भएकाले पनि हिन्दू धर्ममा नागकाे पूजा गर्ने चलन चलेकाे मानिन्छ । नाग तथा सर्पले प्रकृतिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि नाग तथा सर्पहरूकाे पूजा गर्ने चलन बसेकाे मानिन्छ । नाग तथा सर्पहरूले मुसा खाएर खेतीबालीकाे रक्षा समेत गर्ने गर्छन् ।
वर्षायाममा विशेषगरी नाग, सर्पहरू जमीनमा धेरै देखिन्छन् । असाबधानीबस नाग तथा सर्पहरू नजिक पुग्दा र यिनीहरूलाइ हानी पुग्ने खतरा हुँदा यिनले मानिसहरूलाइ समेत डस्ने भएकाले नाग तथा सर्पलाइ खुशी पार्नको लागि श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको पाइन्छ। नागलाइ खुशी पारे पानीकाे दुःख नहुने विश्वास पनि रहँदै आएकाे छ ।
हिन्दू दर्शन अनुसार नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय मान्यता पनि रहेको छ। घर बनाउँदा पहिले नागकाे पूजा गर्नुपर्ने र नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइने विश्वास छ । नागकाे शिर भदाै असाेज र कार्तिकमा पूर्वतर्फ, मंसिर, पुस र माघमा दक्षिण, फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ असार र श्रावणमा उत्तरमा रहने बर्णन शास्त्रमा गरिएकाे छ ।
नाग पञ्चमीपछि हिन्दू धार्मिक परम्परा अनुसारका चाडबाडहरू पनि शुरू हुने हुनाले यसकाे बिशेष महत्व छ । याे पर्वलाइ बर्षातकाे अन्त्यकाे रूपमा पन हेरिन्छ ।
मिलन शर्मा दनाई