मर्स्याङदीमा अकबरेको ब्यवसायीक खेती सफलोन्मुख, यस बर्ष १० मेट्रिक टन बढी उत्पादन हुने

खबरकुञ्ज

बेसीशहर, भदौ ४ । मर्स्याङदी गाउँपालिकाका बिभिन्न वडामा अभियानको रुपमा शुरु गरिएको अकबरे खुर्सानीको ब्यवसायीक खेती सफलोन्मुख देखिएको छ । यस बर्ष साे गाउँपालिकामा १० मेट्रिक टन भन्दा बढी अकबरेकाे उत्पादन हुने  अनुमान छ ।

गाउँपालिकालाई कृषिको हबको रुपमा विकास गर्न र किसानहरुको आय आर्जनमा टेवा पु¥याउन गाउँपालिकाले गत आर्थिक बर्षदेखि किसानहरुलाई अनुदानको ब्यवस्था गरी अकबरे खुर्सानीको ब्यवसायीक खेतीका लागि प्रोत्साहित गरेको थियो ।

गाउँपालिकाले किसानमुखी योजना, बजेट, नीति तथा कार्यक्रम बनाउँदै किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउन अभियानको रुपमा अकबरे खुर्सानीको खेती शुरु गरेकोमा अभियान सफल देखिएको गाउँपालिकाले जनाएको छ । 

मर्स्याङदी गाउँपालिकाको अनुदान सहयोगमा गत बर्षदेखि पालिकाका विभिन्न वडामा गरी ३ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गरिएको थियो । यसका लागि पालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थप १० लाख रुपैयाँ सहयोग गरेको थियो । अनुदानका साथमा प्राविधिक सहयोग समेत पाएपछि त्यहाँका किसानहरुले  व्यवसायिक अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु गरेका थिए । 

अकबरे खुर्सानी नगदे बालीको रुपमा चिनिन्छ । यसको देशभित्र र बाहिर पनि अत्याधिक माग छ । यसकोे ब्यवसायीक खेतीबाट किसानहरुको जीवनस्तर उकास्ने उद्देश्यले पालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिएको र यो अभियान सफल भई पालिकाको आर्थिक समृद्धिको एउटा खुड्किलो हुनेमा आाफू बिस्वस्त  रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

अध्यक्ष गुरुङले चालु आर्थिक बर्ष अकबरे खेती थप विस्तार गरी थप ३ सय रोपनी विस्तार गर्न गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।

अघिल्लो बर्ष अकबरेको खेतीका लागि गाउँपालिकाले विरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिनुका साथै किसानहरुलाई आवश्यक तालिम समेत दिएको थियो । 

गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख विनोद दाहालले अकबरे खुसार्नी खेतीका लागि पालिकाले बजेट विनियोजन गरेपछि किसानहरु हौसिएका र अघिल्लो बर्ष लगाइएको बालीबाट १० मेट्रिक टन अकबरे उत्पादन हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार पालिकाका किसानहरु ब्यक्तिगत र समूहमा मिलेर अकबरे खेती गरिरहेका छन् ।         

अहिले मर्स्याङदीमा लगाइएको अकबरेले बजार लिन थालेको छ । यहाँको उत्पादन काठमाडौं, चितवन, पोखरा लगायतका बजारमा पठाउन थालिएको छ । किसानहरुले प्रतिकेजी १ सय ४० देखि ४ सय सम्म आम्दानी गरिरहेका दाहालले जानकारी दिए । दाहालले एउटा अकबरेको विरुवाबाट ४÷५ महिनासम्म उत्पादन लिन सकिने र एउटा विरुवाले डेढ÷दुई केजीसम्म उत्पादन दिने बताए ।

मर्स्याङदी कृषि सहकारी संस्था लि. का अध्यक्ष नविनराज कुइँकेलले पालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती शुरु भएको र वडा नं. ७ का किसान गोपाल गुरुङ एक्लैले १० रोपनीमा अकबरे खुर्सानीको खेती गरी राम्रो आम्दानी लिन थालेका जानकारी दिए । उनका अनुसार बजारको ब्यवस्था मिलाएका किसानहरुले आफैले धमाधम अकबरे बिक्री गरिरहेका छन् । बजार खोज्न नसकेका किसानहरुले स्थानीय हाटबजारका साथै खुदी, भुलभुले, बेसीशहरमा विक्री गरिरहेका छन् । त्यो पनि गर्न नसक्ने किसानहरुले मर्स्याङदी कृषि सहकारी संस्थामार्फत अकबरे विक्री गरेका उनले बताए । गाउँपालिकाको कृषि एम्बुलेन्सले पनि विभिन्न स्थानमा लगेर अकबरेको विक्री गरिरहेको उनले जानकारी दिए । 

मर्स्याङदीको कृषि शाखाले यस बर्ष अकबरे खेती ८ सय रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना बनाएको छ। अघिल्लो बर्ष पहिलो पटक अकबरे खेती थालिएकाले धेरै किसानले आवेदन दिएनन्, अहिले धेरैले चासो राखेको पाइएको छ । अहिले सिजनको उत्पादन भएर भनेजति मूल्य पाउन किसानलाई मुश्किल परेकाले यस बर्ष बेमौसममे अकबरे खेतीमा जोड दिइने कृषि शाखा प्रमुख दाहालले बताए । 

प्रतिक्रिया