त्रिवेणी कप फुटबलः एपिएफ र टोखा भगवती क्लव सेमीफाइनलमा

खबरकुञ्ज

बेसीशहर, पुस १७ गते । एपिएफ फुटबल क्लब र टोखा भगवती क्लव लमजुङ सदरमुकाम बेसीशहरमा जारी त्रिवेणी कप राष्ट्रब्यापी नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेलमा मच्छिन्द्र क्लव काठमाडौंलाई ४–० ले पराजित गरी सेमीफाइनल यात्रा तय गरेको हो । एपिएफका लागि खेलको २२ औ मिनेटमा कप्तान हरि कार्कीले पहिलो गोल गरे । सेन्टरलाइनबाट उनले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो । 

दोस्रो र तेस्रो गोल क्रमशः ४३ औं र ५२ औं मिनेटमा प्रदिप लामाले गरे । उनले खेलको म्यान अफ दि म्याच घोषित भई नगद ५ हजार पुरस्कार पनि जिते । खेलमा चौथो गोल ६० औं मिनेटमा युवराज खड्काले गरेका थिए । 

प्रतियोगिता अन्तर्गत बुधवारको दोस्रो खेलमा एनआरटी क्लव काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै टोखा भगवती फुटबल क्लव पनि सेमिफाइनलमा प्रवेश गरेको छ । टोखाका लागि खेलको ८ औैं र ३८ औं मिनेटमा अमित लामाले दुईवटा सुन्दर गोल गरे । खेलको ४७ औं मिनेटमा अभेक रिचर्डले तेस्रो गोल गरी टोखालाई सेमीफाइनलमा पु¥याएका थिए । 

खेलमा टोखाका अमित लामा म्यान अफ दि म्याच घोषित भई ५ हजार पुरस्कार जिते ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल अभिषेक चर्च रजहर र आयोजक त्रिवेणी युवा क्लवबीच र दोस्रो खेल त्रिभुवन आर्मी विरुद्ध बीवाइसी भोटेओडार खेल्ने छन् ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ । 



प्रतिक्रिया