मर्स्याङदी गाउँपालिकाकाे तल्लाे चिप्लामा जमीनमा धाँजा फाट्याे, ४० घर जाेखिममा

खबरकुञ्ज

बेसीशहर, साउन १४ गते । लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नंं ५ तल्लो चिप्ला पहिरोको जोखिममा परेको छ । तल्लो चिप्लाको गैरीगाउँको सिरानमा बर्षाका कारण जमीनमा धाँजा फाट्ने, चिरा पर्ने र केही ठाउँमा पहिरो समेत खसेपछि विपद्को भयले गाउँलेहरु त्रसित भएका छन् ।

वडा नं. ५ का वडा अध्यक्ष घनश्याम घलेले धेरै बर्षाका कारण गाउँ भन्दामाथि करीब २० मिटर जति जमीनमा धाँजा फाटेको जानकारी दिए । यसबाहेक सोही ठाउँ वरिपरि अन्यत्रसमेत छड्के भएर ठाउँ ठाउँमा चिरा परेपछि त्यहाँका ४० वटा घर जोखिममा परेका उनले बताए । उनले गैरीगाउँमा जोखिम देखिए पनि माथि रहेको डाँडागाउँमा भने जोखिम देखिएको छैन ।


गाउँमा धाँजा फाटेको खबर पाएपछि आइतबार वडा अध्यक्ष घलेसहित वडाका जनप्रतिनिधिहरु आफै गाउँमा पुगेर निरीक्षण गरेका थिए । सो क्रममा निरन्तर बर्षा भइरहे जोखिम निम्तन सक्ने भएकाले गाउँलेहरुलाई सुरक्षित स्थानमा बस्न उनीहरुले आग्रह  गरेका थिए । वडा अध्यक्षसहित जनप्रतिनिधिहरुको सल्लाहमा गाउँलेहरु हिजै बेलुका देखि खाना खाएर कोही डाँडागाउँ त कोही स्थानीय विद्यालयमा गएर सुतेका छन् ।


गाउँमा पहिरोको जोखिम देखिएपछि वडा अध्यक्ष घलेले पालिका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला विपद् ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायतका निकायमा खबर गरेका थिए ।


खबर पाएपछि सोमबार पालिका अध्यक्ष अर्जुन गुरुङसहित जिल्ला विपद् ब्यवस्थापन समिति र रेडक्रससहितको टोलीले गाउँमा गई निरीक्षण गर्नुका साथै गाउँलेहरुलाई सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाएर फर्केको छ । गाउँलेहरुलाई सुरक्षित स्थानमा सुत्ने बस्ने ब्यवस्थाका लागि मर्स्याङदी गाउँपालिकाले २५ थान, नेपाल रेडक्रस सोसाइटीले १० थान र जिल्ला विपद् ब्यवस्थापन समितिबाट ४ वटा ठूलो त्रिपाल उपलब्ध गराइएको वडा अध्यक्ष घलेले जानकारी दिए ।

उनका अनुसार अहिले गाउँलेहरुले धाँजा फाटेको जमीनमा माटो भरेर पुरेका छन् । मान्छे नै छिर्न सक्ने गरी धाँजा फाटेपछि सभ्भावित जोखिम टार्न स्थानीयले धाँजा फाटेको जमीन वरिपरि पानी तर्काउने ब्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया