जेनजीको प्रदर्शनका क्रममा सरकारी दमनमा परी ९ जनाकाे मृत्यु

खबरकुञ्ज

काठमाडौं, २३ भदौ । राजधानी काठमाडौं सहित देशका प्रमुख शहरहरुमा आज भएको जेनजीको प्रदर्शनका क्रममा सरकारी दमनमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

प्रदर्शनको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा ६ जना, नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा १ र काठमाडाैं मेडिकल कलेजमा १ जना र शिक्षण अस्पतालमा १ जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनका क्रममा प्रहरीले हानेको गोली लागी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

सामाजिक न्याय, जवाफदेहिता र सुशासनकाे माग गर्दै २८ बर्ष मुनीका युवाहरुको पुस्ता जेनजीले आज राजधानीसहित प्रमुख शहरहरुमा आन्दोलन घोषणा गरेको थियो । आन्दोलनमा प्रहरी दमन भएपछि हिंसात्मक रुप लिन पुगेको हो । 

काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर राजधानीको ट्रमा सेण्टरमा ४ जना र निजामती अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ । निजामति प्रदर्शनका क्रममा घाइते भएका डेढसय प्रदर्शनकारीको निजामति अस्पतालमा र करीब ५० जनाको ट्रमा सेण्टरमा उपचार भइरहेको छ । अझै केही घाइतेहरुको अवस्था गम्भीर छ ।

काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले चोली चलाउन थालेपछि प्रदर्शनकारी पनि उग्र भएका थिए । प्रदर्शनमा अन्धाधुन्ध अश्रु ग्यास प्रहार भएपछि प्रदर्शनकारीले ढुंगा, मुढा, ईटाले प्रहरीमाथि जाइलागेका थिए । यस क्रममा केही प्रहरी सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ । पोखरामा पनि आन्दोलन उग्र भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौंको माइतीघरबाट शुरु भएको जेनजीको प्रदर्शन बानेश्वरस्थित संसद भवनसम्म पुगेको थियो । संसद भवनमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शन थप हिंसात्मक बन्न पुगेको हो । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ठाउँ ठाउँमा भिडन्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडाैंकाे बानेश्वर क्षेत्रमा सरकारले सेना नै परिचालन गरेकाे छ ।

जेनजीको आन्दोलन पोखरा, बिराटनगर, भरतपुर लगायतका प्रमुख शहरहरुमा पनि चलेको छ ।

प्रतिक्रिया