विवरण नबुझाउने ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने मेयर बालेनको चेतावनी

काठमाडाैं, जेठ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडाैंका विभिन्न ६८ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

महानगरपालिकाले ती स्वास्थ्य संस्थासंग कानुन बमोजिम   विपन्न वर्गलाई उपचारमा दिएको छुट सुविधाको विवरण मागेकाेमा उपलब्ध नगराएपछि मेयर शाहले कारबाहीका लागि सरकारकाे ध्यानाकर्षण गराएका हुन् । उनले सरकारले ती स्वास्थ्य संस्थालाइ कारबाही नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी दिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतलाई भेटेर मेयर शाहले यस्ताे ध्यानाकर्षण गराएका हुन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख भए पनि ती स्वास्थ्य संस्थाले त्यसाे नगरेकाे महानगरपालिकाकाे भनाइ छ ।

काठमाडाैं महानगरपालिकाले महानगरपालिका यही जेठ ६ गते काठमाठाैंका अस्पताल लगायत विभिन्न  स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरेकाेमा  ६८ स्वास्थ्य संस्थाले विवरण उपलब्ध नगराएको मेयर शाहले बताए ।

मेयर शाहले सामाजिक सन्जालमा लेखेका छन्, ‘माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छौं । यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’

नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने भन्दै उनले सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको स्मरण समेत गराएका छन् ।

प्रतिक्रिया