बेसीशहर, बैशाख १ गते । नेपाल टेलिभिजनले लमजुङ सदरमुकाम बेसीशहरमा आइतबार राती आयोजना गरेको नयाँ बर्ष शुभारम्भ साँझमा प्रमुख अतिथि रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रीका अगाडि कूलमान घिसिङको समर्थनमा नारा लागेको छ ।
बेसीशहर नगरपालिकाको प्रायोजनमा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रम चलिरहेका बेला राती ११ बजे विद्युत आपूर्ति बन्द भएपछि दर्शकहरुले मन्त्रीकै अगाडि कूलमान घिसिङको समर्थनमा नारावाजी गरेपछि कार्यक्रम आयोजक नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष लगायत कर्मचारीहरु अक्क न वक्क भएका थिए ।

उज्यालो नेपालका पर्याय बनेका कूलमान घिसिङलाई हटाएर वर्तमान सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ । यसको चौतर्फी विरोध भइरहेका बेला मन्त्री प्रमुख अतिथि रहेको सरकारकै मातहतको नेपाल टेलिभिजनको कार्यक्रममा वत्ती गएपछि दर्शकबाट कुलमानको समर्थनमा नारावाजी भएको थियो ।
प्रत्यक्ष प्रसारणको कार्यक्रम आधा घण्टा रोकिएपछि नारावाजीसंगै दर्शक दीर्घाबाट वर्तमान सरकारको आलोचना भएको आफ्नै कानले सुनेको मन्त्री गुरुङ कार्यक्रम नसकिँदै हिँडेका थिए ।
नयाँ बर्ष शुभारम्भ साँझमा चर्चित गायक थानेश्वर गौतम, कुलेन्द्र विक, थानेश्वर गौतम, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, सुमन थापा मगर, अनिता चलाउने, राहुल श्रेष्ठ, मुकेश नेपाली लगायतका कलाकारले सांगीति प्रस्तुति दिएका छन् ।
खबरकुञ्ज