लमजुङका पत्रकारको चुनाव देखेर लाज पनि लजायो

खबरकुञ्ज

बेसीशहर, मंसिर २८ गते । नेपाल पत्रकार महासंघ लमजुङको ८ औं अधिवेशन अन्तर्गत शुक्रबार नयाँ केन्द्रीय, प्रदेश र जिल्ला समितिका लागि भएको मतदान अवस्था देखेर लाज पनि लजाएको महशुस भएको छ । 

गठबन्धनका नाममा ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले तथा तिनका सुभेच्छुक÷भातृसंस्था नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका नेताहरुको दादागिरीले यस्तो महशुस गराएको हो ।

गठबन्धनको विरुद्ध अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका अनुज अधिकारीको उमेदवारी फिर्ता गराउन गरिएको अबाञ्छित प्रपञ्च लाज नै लजाउने खालको थियो । यसका लागि मतदानस्थलभित्र अबाञ्छित रुपमा राजनीतिक दलका नेता कार्यकर्ताहरु नै प्रवेश गर्दा पनि निर्वाचन समिति मुकदर्शक बनिरह्यो ।

युनियन र चौतारीको गठबन्धनबाट अध्यक्षको उमेदवार युनियनका सन्देश पौडेल विरुद्ध चौतारीका अनुज अधिकारीले उमेदवारी दिएका थिए । बिहीबार मनोनयन पत्र दाखिला गरेका उनलाई मनोनयन फिर्ता लिन निकै दबाब थियो । दबाब झेल्न नसकी उनी मोबाइल स्वीचअफ गरी लुकेर बसेका थिए ।

शुक्रबार मतदानको तयारी भएको खबर पाएपछि उनी दिउसो ३ बजेतिर मतदानस्थल प्रवेश गरेको मौकामा नेकपा एमाले र प्रेस चौतारीका नेता कार्यकर्ताले चिलले कुखुराको चल्ला झम्टेझैं झम्टे र अपहरण शैलीमा एकातिर लिएर गए । जसका कारण लामो समयसम्म मतदान शुरु हुन सकेन । मतदानका लागि पुगेका मतदाताहरु छटपटाइरहँदा गठबन्धनका नेताहरु बरण्डा रेष्टुरेण्टमा वैठक बसिरहेका थिए । अधिकारीलाई कसरी ब्याक गराउने र उनी ब्याक नभए के कस्तो रणनीति अपनाउने भन्ने बिषयमा कांग्रेस, एमालेका जिल्लास्तरीय नेता र युनियन र चौतारीका नेताहरुको सहभागितामा त्यहाँ लामो छलफल भएको थियो । युनियनले अधिकारीलाई कारबाही गर्नुपर्ने शर्त राखेपछि त्यो शर्त स्वीकार गरी उनलाई कारबाही गरिएको बिज्ञप्तीसमेत जारी गरियो ।

प्रेस युनियनलाई महासंघ लमजुङको अध्यक्ष जुनसकुै मूल्यमा पनि जित्नुपर्नेे र चौतारीलाई केन्द्रको अध्यक्ष र गण्डकी भूगोलबाट उठेका कृष्ण केसीलाई जसरी पनि जिताउनु पर्ने थियो । 

यसका लागि प्रेस चौतारीका नेताहरुले अनुजलाई उमेदवारी फिर्ता लिन फेरि पनि दबाब दिइनै रहे । उनकै कारण गठबन्धन फेल खाने अबस्था भएपछि अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि अनुजको उमेदवारी फिर्ताको नाटक पनि मञ्चन  गरियो । तर गठबन्धन इतरका सदस्यहरुले बिरोध गरेपछि यो सफल भएन ।

त्यसपछि अनुजलाई अनेकन आश्वासन दिएर फकाइयो । तै उनी टसमस नभएपछि उनलाई आगामी अधिवेशनमा जसरी पनि अध्यक्ष बनाउने र त्यसका लागि युनियन र चौतारीबाट लिखित सम्झौता गर्ने भनि उधारो सम्झौताको कागज पनि गरिएको थियो । यसमा पनि अनुज तयार नभए भएनन् ।

समय पनि घर्किसकेको र अधिकारी टसमस नभएपछि प्रेस युनियन र चौतारीका नेताहरुले आफ्ना सदस्यहरुलाई एकले अर्कालाई निगरानी गर्ने गरी मतदानमा जाने उपाय निकाले । जस अनुसार एकजना चौतारी र एक जना युनियनका सदस्य संगै मतदानमा जाने र गठबन्धनबाहेक अन्यत्र मत हाल्न नदिने गरी संगै मतदानमा पठाउने रणनीति अपनाइयो । 

जिल्लाको हकमा कसले कति क्रमसंख्याको मतपत्र लगेको छ भन्ने बाहिर टिपेर मात्रै मतदान गर्न जान दिइयो । जस अनुसार कसले कता मतदान ग¥यो भन्ने थाह हुने र गठबन्धन भन्दा बाहिर मतदान गरे नराम्रो हुने भनि मतदाताहरुलाई धम्की समेत दिइएको पाइयो । जसका कारण मतदाताहरुले आफूहरुले स्वतन्त्र रुपमा मतदान गर्न नपाएको तर यस बिरुद्ध बोल्न पनि नसकेको लाचारी ब्यक्त गरे ।

गठबन्धनमा रहेका ती संगठनहरुको दादागिरी हावी हुँदा मतदान गर्न बिहानैदेखि मतदान स्थल जिल्ला समन्वय समितिमा पुगेका मतदाताहरुले दिनभर मतदान गर्न पाएनन् । देशभरका अन्य शाखाहरुमा आधाआधी मतदान भइसक्दा लमजुङमा उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गरिएको थिएन । दिउसो ३ बजे अन्यत्र कतिपय जिल्लामा मतदान सकिएपछि लमजुङमा बल्ल उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

नामावली प्रकाशन भई मतदानको तयारीपछि पनि मतदान शुरु नभए पछि उपस्थित मतदाताहरु आक्रोसित भए । आक्रोसमा कतिपयले मतपत्र च्यात्ने चेतावनी दिएपछि मतपत्र प्याक गरी प्रहरीको सुरक्षामा राखिएको थियो ।

नेपालको इतिहासमै अहिलेसम्म यस्तो निर्वाचन आफूले नदेखेको मतदान गर्न पुगेका प्रेस सेण्टर लमजुङका अध्यक्ष रुद्रहरि ढकालले बताए । यो त लाज पनि लजाउने कुरा भयो, उनले भने । 

बेलुका घाम अस्ताउँदै गर्दा बल्ल तल्ल मतदान शुरु भयो । जम्मा ३४ जना सदस्य रहेको लमजुङ शाखाको निर्वाचनमा ३२ मत खस्यो । अहिले यो समाचार तयार पार्दा मतगणनाको तयारी भइरहेको छ ।

बिहीबार मनोनयन पत्र दर्ता गर्ने क्रममै अध्यक्षमा उमेदवारी दिएका अनुज अधिकारी उमेदवारी दिनासाथ सम्पर्कमा नरहेपछि उनलाई खोज्न प्रहरी नै परिचालन गरिएको थियो । उनी शुक्रबार बिहान मात्र सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया