राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको आज एक वर्ष पूरा भएको उपलक्ष्यमा देशभर घण्टी बजाइएकाे छ ।
रास्वपाले स्थापना दिबसको अवसरमा आज साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक घण्टी बजाउने कार्यक्रम तय गरेको थियाे । नागरिकहरूलाइ आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउन रास्वपाले अनुरोध गरेकोमा देशैभर नागरिकहरूले यस अभियानमा एैक्यवद्धता जनाएका छन् । घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा #bajyoghanti, #abaduitihai राखेर पोस्ट गर्न पनि अनुरोध गरेको छ ।
एक वर्षको अवधिमा जनताबाट पाएको उत्साहजनक समर्थन, साथ र सहयोगका लागि रास्वपाले कृतज्ञता जाहेर गरेको छ । पार्टी स्थापनाको अवसरमा आज रास्वपाले पार्टीमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई पार्टी स्थापना दिवसको शुभकामना ब्यक्त गरेको छ ।
यस अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भए ।
काठमाडौंको बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पुगेर शुभकामना दिएका थिए ।
यस अवसरमा रास्वपा लमजुङले लमजुङ सदरमुकाम बेसीशहरको भीमसेनस्थानमा बेलुकी ७ बजे घण्टी बजाउने कार्यक्रम सम्पन्न गरेकाे छ । रास्वपा बेसीशहर नगर कार्य समितिकाे अायाेजनामा भएकाे कार्यक्रममा बेसीशहरमा रहेका रास्वपा सदस्यहरूले ७७ पटक घण्टी बजाएका थिए ।
यस अघि रास्वपा लमजुङका सहसंयाेजक अशाेक सापकाेटाले रास्वपाकाे स्थापना, उद्देश्य, राष्ट्रिय राजनीतिमा रास्वपाले खेलेकाे भूमिका र समसामयिक राजनीतिका बारेमा मन्तब्य राखेका थिए ।
भीमसेन स्थानमा घण्टी बजाउने कार्यक्रम सम्पन्न गरेपश्चात रास्वपाका नेता कार्यकर्ताहरू सम्मिलित जुलुस घण्टी बजाउँदै शेराबजारमा पुगेकाे थियाे । शेराबजारमा काेणसभा गरी कार्यक्रम समापन गरिएकाे थियाे । काेणसभामा रास्वपा बेसीशहर नगर कार्य समितिका सभापति कृष्णबहादुर राउतले कार्यक्रमबारे जानकारी गराउँदै सभा बिसर्जन गरेका थिए ।