बेसीशहर, पुस १३ गते । काठमाडौंको टोखा भगवती फुटबल क्लव लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३२ औं त्रिवेणी कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बेसीशहरको सहजी रंगशालामा शनिबार दिउसो भएको दोस्रो खेलमा ठडराई अधिकारी समाज दिहीथोकलाई २–१ गोल अन्तरले पराजित गर्दै टोखा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको शुरुवातमै टोखा भगवतीले टीमका लागि पहिलो गोल गरेको थियो । पहिलो मिनेटमै टोखाका लागि विदेशी खेलाडी जर्सी नंं २४ का अभेयक रिचर्डले शुरुवाती गोल गरेका थिए । तर टोखाको यो अग्रता धेरैबेर टिक्न पाएन । खेलको तेस्रो मिनेटमै दिहीथोकका लागि जर्सी नंं १० का खेलाडी एडुसी हेन्ड्रीले बराबरी गोल फर्काएर खेललाई लयमा ल्याए ।
बेसीशहरको सहजी रंगशालामा घरेलु समर्थकको हुटिङका बाबजुद पनि दिहीथोकले थप गोल गर्न सकेन । टोखाले पनि गोल गर्ने थुप्रै अबसर पायो तर उसले पनि गाले गर्न सकेन ।
खेलको ५६ औं मिनेटमा दिहीथोकका कप्तान जर्सी नंं १० देव गुरुङले फाउल गरेपछि टोखाले डिबक्स बाहिर फ्रि किक पायो । सोर्गेन शेर्पाले प्रहार गरेको उक्त फ्रि किकलाई टोखाका निशान्त माझीले हेड गर्दै सुन्दर गोलमा परिणत गरेपछि अन्ततः टोखा भगवती २–१ गोल अन्तरले क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो ।
शनिबारकै पहिलो खेलमा मच्छिन्द्र क्लव काठमाडौंसंग ट्राइबेकरमा पराजित भइ गत बर्षको बिजेता भुजुङ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल आयोजक त्रिवेणी क्लव बिरुद्ध सुन्दरबजार फुटबल क्लव र दोस्रो खेल चामे युवा समूह मनाङ विरुद्ध एनआरटी काठमाडौंबीच हुने छ ।
खबरकुञ्ज