राष्ट्रपति रामचन्द्र पाैडेलले सितल निवासमा थन्किएर बसेकाे नागरिकता विधेयकलाइ प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।
अघिल्लो संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई तत्कालीन राष्ट्रपति विद्या भण्डारीले राेकिदिएकी थिइन् ।
नागरिकता विधेयक पहिलाे पटक २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा भण्डारीले ८ बुँदाको सरोकार उल्लेख गरेर संसदमा फिर्ता पठाएकी थिइन् । उनले नागरिकता विधेयक अपूरो रहेको र संविधानसँग बाझिएको भन्दै पुनर्विचार गर्न संघीय संसदमा पठाएकीमा संसदकाे दुवै सदनले दोस्रो पटक पुनः हुबहु पारित गरेर विधेयकलाइ भदौ २० गते राष्ट्रपतिकहाँ पठाएको थियो ।
राष्ट्रपतिले उक्त विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाेमा प्रमाणीकरण नगरी बसेकी राष्ट्रपति भण्डारी गत फागुन २९ गते नयाँ राष्ट्रपति रामचन्द्र पाैडेलले सपथ खएपछि शितलनिवासबाट विदा भएकी थिइन् ।
भण्डारीले प्रमाणीकरण नगरी राेकेकाे त्यही नागरिकता विधेयक अहिले राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् । सत्ता गठबन्धनले उनी राष्ट्रपछि भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गर्न सुझाव दिएपछि पाैडेलले लामाे समय उक्त विधेयक प्रमाणीकरण गर्ने वा नगर्ने भन्ने सम्बन्धमा कानुनी परामर्श गरेका थिए ।
गत जेठ १२ मा मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेकाे थियाे । साेही मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिएका छन् ।
विधेयकमा मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ ।
विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा छन् ।
नेपालमा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकहरू कानुनकाे अभावमा नागरिकता पाउनबाट वञ्चित रहेकाे बताइन्छ ।
हेर्नुहाेस् राष्ट्रपति कार्यालयकाे विज्ञप्ती ।