दलीय भागवण्डामा न्यायाधीश नियुक्त गर्ने परिपाटी नबदल्ने हाे भने नेपालबाट न्याय मर्छः मुख्यमन्त्री पाण्डे

मिलन शर्मा दनाई

बेसीशहर, जेठ २० गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलीय भागवण्डामा न्यायाधीश नियुक्त गर्ने परिपाटी नबदल्ने हाे भने नेपालबाट न्याय मर्ने ठाेकुवा गरेका छन् ।

नेपाल पत्रकार महासंघ लमजुङकाे नवनिर्मित भवनकाे बेसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले दलहरूबाट  न्यायाधीश नियुक्ति गर्ने परिपाटी परिवर्तन नगर्ने हाे भने स्वतन्त्र न्यायपालिकाकाे कल्पना गर्न नसकिने र दलीय सिफारिसमा नियुक्त हुने न्यायाधीशबाट दिइने न्याय पनि स्वतन्त्र  नहुने बताए । 

सर्वाेच्च अदालतकाे आदेशबाट केहिदिन अघि मात्र पुनः मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले भने– "अहिले मेराे धेरै वकीलहरूसंग उठबस भयाे ।  मुद्दाका सिलसिलामा वकीलहरूसंग कुराकानी हुँदा वकीलहरू सिधै भन्छन्– हेराैं न्यायाधीश कस्ताे पर्छ, काे पर्छ ? ए बाबा न्याय पनि न्यायाधीश कस्ताे पर्छमा भर पर्छ ? संविधानकाे ब्याख्या न्यायाधीश कस्ताे पर्छ भनेर पाउने हाे भने कसरी हामी निष्पक्ष न्यायकाे आशा गर्न सक्छाै ?"

उनले यस अघि गण्डकी प्रदेशमा सभामुखकाे टाउकाे गनेर सरकार बनाउने काम भएकाेमा पनि गुनासाे गरे । उनले भने– सरकार बनाउने काममा सभामुखले हस्ताक्षर गर्न नपाइने तर टाउकाे गन्न पाइने कसरी हुन्छ ? ६० काे बहुमत ३१ हुनु पर्नेमा ३० लाइ नै बहुमत हुन्छ भन्ने सर्बाेच्च अदालतकाे अघिल्लाे फैसलाले गणितकाे सिद्धान्त नै फेल खाएकाे उनले बताए ।

राजनीतिक दलहरूले नै न्यायलयलाइ प्रभावित बनाउने गरेकाले यस्ता फैसला आउने गरेकाे भन्दै दलीय नियुक्तिमा न्यायाधीश नियुक्ति गर्ने परिपाटीकाे अन्त्य नभएसम्म यस्तै भइरहने उनले बताए ।  उनले भने–" म याे वा उ पार्टी भनेर भन्दिन, सबैबाट यस्ताे भएकाे छ । हामीले न्यायलयलाइ प्राेएक्टिभ जाे बनाइरहेका छाैं याे प्रजातन्त्रका लागि हितकर छैन । याे कुरा पत्रकार साथीहरूले उठाउनु पर्छ ।" 

मुख्यमन्त्री पण्डेले आफू  दाेस्राे पटक मुख्यमन्त्री बनेकाे भन्दै याे पाँच बर्षमा कति पटक मुख्यमन्त्री बन्नु पर्ने हाे थाह छैन भने । परिवर्तन र र दीगाे सरकारकाे वकालत गर्नेहरू नै सरकार बनाउने र ढलाउने खेलमा लागेकाे भन्दै यस्ता क्रियाकलापले लाेकतन्त्र बलियाे नहुने धारणा उनले राखे । राजनीतिक दलहरू संविधानकाे छिद्र खाेजेर सरकार गिराउने र बनाउने प्रयत्न गरिरहनु दुःखदायी कुरा रहेकाे भन्दै उनले संसदीय ब्यवस्थामा सत्तासंगै राजनीतिक नैतिकता पनि सबै भन्दा ठूलाे हुने भन्दै उनले जे जे गरेर पनि सत्ता टिकाउने खेलले संसदीय ब्यवस्था र संबिधानलाइ बचाउन सक्दैनाैं, उनले भने ।

अहिले ब्यवस्था र संविधानमाथि बिभिन्न काेणबाट प्रहार भइरहेकाे भन्दै मुख्यमन्त्री पाण्डेले हाम्रा कामबाट त्यसकाे जवाफ दिनु पर्नेमा यिनकाे बिराेध गर्नेहरूलाइ मलजल पुग्ने गरी हाम्रा काम कारबाही अघि बढे भने जतिसुकै ठूलाे बलिदानबाट प्राप्त गरेर ल्याएकाे भएपनि चाहेर पनि प्राप्त उपलब्धीलाइ जाेगाउन नसकिने उनकाे भनाइ थियाे ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरूङ लगायतले मन्तब्य राखेका थिए ।

साे अवसरमा भवन निर्माण कार्यमा सहयाेग गर्ने संघसंस्था एवं ब्यक्तिहरूलाइ सम्मान गरिएकाे थियाे ।



प्रतिक्रिया