लमजुङमा फुटबलको कुम्भ मेला त्रिवेणी कप फुटबल शुरु, साविक बिजेता एपिएफ दाेस्राे चरणमा

खबरकुञ्ज

बेसीशहर, पुस १२ । लमजुङमा फुटबलको कुम्भ मेला याे सिजनको त्रिवेणी कप फुटबल शनिबारबाट शुरु भएको छ । लमजुङ सदरमुकाम बेंसीशहरको सहजी खेल मैदानमा शनिबारबाट ३३औँ संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी आमन्त्रित फुटबल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री एवं क्लवका पूर्व अध्यक्ष भेषबहादुर पौडेलले सहजी रंगशालामा आयोजित भब्य समारोहबीच उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मन्त्री पौडेलले खेलको विकास संगै भौतिक संरचनाको विकास पनि हुनुपर्नेमा जोड दिए । प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्दै बेसीशहरका मेयर गुमानसिं अर्यालले सहजी खेलमैदानको भौतिक विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने बताए ।


प्रतियोगिताको उद्घाटन खेलबाटै साविक विजेता विभागीय टीम सशस्त्र प्रहरी बलको (एपीएफ) क्लवले विजयी सुरुवात गरेको छ। लमजुङको सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एपिएफले अघिल्लो चरण पक्का गरेको हो । प्रतियोगितामा एपीएफका समीर थोकरले ह्याट्रिक गरे । खेलको पहिलो हापको २० र ३०औँ र दोस्रो हापको २५ औं मिनेटमा उनले गोल गरे । पहिलो हापको ३७औँ मिनेटमा प्रदीप लामा, दोस्रो हाफको १८औँ मिनेटमा मणि लामाले अर्को गोल गरी टीमलाई ५–० को अग्रता दिलाए । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफका समीर थोकर म्यान अफ दि म्याच घोषित भई नगद १० हजार रुपैयाँ पुरस्कार जिते । प्रतियोगितामा पहिलो गोल गरेबापत उनले रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँको पुरस्कार पनि पाए ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेल एनआरटी काठमाडौं र भानु युनाइटेड काठमाडौं बीच पहिलो र सूर्यपुर चितवन र लमजुङ मर्स्याङ्दी युवा क्लब बेंसीशहरबीच दोस्रो खेल हुने छ ।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, स्वर्णपदक र प्रमाणपत्र र उपविजेताले ६ लाख रुपैयाँसहित रजतपदक र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई २५÷२५ हजार नगद  ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतिक्रिया