बेसीशहर, साउन ३१ गते । लमजुङको दोर्दी गाउँपालिकामा तामे जातको दुर्लभ सालक भेटिएको छ । दोर्दीकोे वडा नंं ३ र ४ को बिचमा रहेको किसेदी खोलाको किनाराको सालक भेटिएको हो ।
किसेदी खोलामा लगाइएको ग्याविन जालीमा अड्किएर रहेको अवस्थामा दुर्लभ सालक भेटिएपछि स्थानीयले श्रीमन्ज्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । प्रहरीले सालकको उद्धार गरी सब-डिभिजन वन कार्यालय बेलघारीलाई खबर गरेको थियो ।
उद्धार गरिएको सालकको खुट्टामा सामान्य चोटपटक देखिएको थियो । दोर्दी गाउँपालिका पशुपन्छी शाखाका पशु स्वास्थ्य प्राविधिकहरुले घाइते सालकको उपचार गराएका थिए ।
वन अधिकृत मनिश कार्कीको नेतृत्वमा आएको सब डिभिजनको टोलीले सालकलाई दोर्दीको सामुदायिक वनमा लगेर सुरक्षित छोडेको छ ।

सालक लोपोन्मुख स्तनधारी जनावर हो । यो नेपालको संरक्षित वन्यजन्तु अन्तर्गत पर्दछ । संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । यो वन्यजन्तुले अक्सर घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ ।
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ । सरकारको प्याङ्गोलिन संरक्षण कार्ययोजना (सन् २०१८-२०२२) अनुसार चाइनिज प्याङ्गोलिन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ भने इन्डियन प्याङ्गोलिन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत सात जिल्लामा र डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङ लगायत १४ जिल्लामा पाइन्छ ।

झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ । यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूणर् भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ। सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ ।
सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ ।
सालकले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ । यसले जमिन खोस्रेर उर्वरा समेत बनाउँछ ।
खबरकुञ्ज