बेसीशहर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले लमजुङको विद्युत अनियमितताले उपभाेक्ताहरू मर्कामा परेकाे विषयमा चासो देखाएको छ ।
विद्युत अनियमिताले लमजुङका उपभोक्ताहरु हैरान हुनुपरेको गुनासो बढेपछि रास्वपो जिल्ला समितिले बेसीशहरको रानीकुवामा रहेको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रको ध्यानाकर्षण गराएको हो ।
उक्त पार्टीका जिल्ला संयोजक धर्म केसी, उपसंयोजक अशोक सापकोटासहितको रास्वपाको प्रतिनिधि मण्डलले मंगलबार लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईलाई भेटेर लमजुङमा विद्युत अनियमिता हुनुको कारण बारे जानकारी लिँदै यथाशीघ्र विद्युतको समस्या समाधान गर्न दवाव दिएको हो ।
प्रतिनिधि मण्डलका सदस्यहरुले विद्युत उपभोक्ता समिति हुँदा पनि यतिधेरै समस्या नदेखिएको भन्दै प्राधिकरणले विद्युतको जिम्मा लिएपछि जिल्लाबासीले थप समस्या झेल्नु परेको गुनासो गरेका थिए ।
सो अवसरमा रास्वपाले एक ज्ञापन पत्रसमेत बुझाएको छ । प्रतिनिधि मण्डलले विद्युत सेवाको विद्यमान समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुझाव दिएको थियो ।
भेटका क्रममा जिल्ला संयोजक केसीले विना सूचना पटक पटक विद्युत सेवा अनियमित हुँदा सेवाग्राहीलाई परेको समस्याबारे अवगत गराउँदै तत्काल समस्या समाधान नभएमा थप दवावका कार्यक्रम अघि बढाउने चेतावनी दिएका थिए ।
सो अवसरमा रास्वपाले बुझाएको ज्ञापन पत्रमा लमजुङ जिल्लामा विद्युत प्रसारणमा देखिएको समस्याको वास्तविक कारण जानकारी गराउन माग गर्दै यसको दीगो समाधानका लागि प्राधिकरणका योजनाहरु के के छन् ? भनि प्रश्न गरिएको छ । ज्ञापनपत्रमा विना सूचना दैनिक पटक पटक विद्युत आपूर्ति नहुनु उपभोक्ताको हित विपरित रहेको भन्दै यस्तो अनियमितताको तुरुन्त समाधान खोज्न र आवश्यक परेमा सार्वजनिक सुनुवाई गरी प्रष्ट पार्न आग्रह गरिएको छ ।
संयोजक केसीले लमजुङको विद्युतमा देखिएको समस्याका बारेमा उर्जामन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई समेत जानकारी गराउने र बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउने जानकारी दिएका छन् ।
ज्ञापन पत्र बुझाउने क्रममा पुगेका रास्वपाका सदस्यहरुले बिहान बेलुका फिल्डमा खटिने प्राधिकरणका प्राविधिकहरुले सेवाग्राहीसंग रकम असुलेको भन्दै विरोध जनाएका थिए । उनीहरुले तीन महिनाको विल एकैपटक तिर्दा सहुलियत नदिइएको गुनासो गरेका थिए ।
रास्वपाको ज्ञापनपत्र र प्रतिनिधि मण्डलको गुनासो सुनेपछि केन्द्र प्रमुख भट्टराईले समस्या समाधानका लागि वितरण केन्द्र लागि परेको भन्दै छिटै समस्याको समाधान हुने आश्वासन दिएका थिए ।
प्रतिनिधि मण्डलमा रास्वपाका बेसीशहर नगर सभापति कृष्णबहादुर राउत, सुन्दरबजारका नगर सभापति श्याम केसी, बेसीशहर नगरका उपसभापति हरिकृष्ण बुढाथोकी, बेसीशहर ८ का वडा सभापति राजकुमार घिमिरे, वडा नंं ८ का सभापति ध्रुब ढकाल, ९ का सभापति भागवतसिंह अर्याल लगायत विभिन्नि वडा समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।