जिल्ला प्रहरी कार्यालयकाे कालिका मन्दिरमा महाकालीको मूर्तिमा प्राण प्रतिष्ठा

खबरकुञ्ज

बेसीशहर, माघ ११ गते । जिल्ला प्रहरी कार्यालय लमजुङको प्राङ्गणमा रहेको कालिका भगवतीको मन्दिरमा रहेको महाकालीको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ ।

बिहीबार बिशेष समारोहबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङको उपस्थितिमा महाकालीको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो । 

२०५४ सालमै निर्माण गरिएको उक्त मन्दिरका लागि काठमाडौंका एक जना भक्तले उपलब्ध गराएको महाकालीको नयाँ मूर्ति स्थापना गरि मूर्तिमा विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालयले मन्दिरको मर्मत सम्भार समेत गरेको छ । प्राण प्रतिष्ठा अघि मन्दिरको केही मर्मत सम्भार र स्वरुप समेत परिवर्तन गरिएको डिएसपी श्रीवास्तवले बताए ।

उक्त समारोहमा लमजुङ जिल्ला अदालतका न्यायाधिश कृष्णप्रसाद पौडेल, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ लगायत कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु एवं बेसीशहरका लब्धप्रतिष्ठित समाजसेवी, ब्यवसायीहरुको उपस्थिति थियो ।

पञ्चेबाजा र वालुन नृत्यका भजनमण्डलीको झाँकी सहितको कार्यक्रममा पण्डित सोमराज बरालल सहितका पण्डितहरुले मूर्तिको प्राण प्रतिष्ठा गराएका थिए  । 


प्राण प्रतिष्ठा गर्दा मन्दिरको मुख्य द्वारमा मूर्ति राखेर त्यसलाई विशिष्ट स्वागत र सत्कार गरी सुगन्धित लेपहरू लगाएर दूधले नुहाए पछि मूर्तीलाई गर्भगृहमा राखेर मन्त्रोच्चारणका साथ पूजा गरिन्छ । पूजाको समाप्तीसँगै मूर्तिमा विधिवत प्राण–प्रतिष्ठा भएको मानिन्छ र मुर्तिले साक्षात देवताको रूप धारण गरेको विश्वास गरिन्छ ।

प्राण–प्रतिष्ठालाई हिन्दू धर्ममा विशिष्ट अनुष्ठान मानिन्छ । हिन्दू धर्मशास्त्र अनुसार प्राणको अर्थ जीवन र प्रतिष्ठाको अर्थ स्थापना हो । प्राण–प्रतिष्ठाको शाब्दिक अर्थ जीवन शक्तिको स्थापना गर्नु हो । प्राण प्रतिष्ठा नगरिएको मूर्तिलाई निर्जिव मानिने भएकाले मन्दिरमा स्थापना गरिएको मूर्तिमा प्राण प्रतिष्ठा नगरी त्यसलाई पुज्नु ब्यर्थ मानिन्छ । 

प्राण–प्रतिष्ठा गरेपछि मात्र मूर्तिमा जीवनशक्ति भरिएको मानिन्छ र बल्ल त्यो मूर्तिलाई देवताको रुपमा पूजा गर्ने चलन छ ।


प्रतिक्रिया