सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्केकामा मन्त्री पाैडेलकाे चिन्ता

खबरकुञ्ज

बेसीशहर, पुस ७ गते । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मन्त्री भेष बहादुर पौडेलले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवालाले सोच्न ढिलो भएको बताएका छन् ।

लमजुङको सुन्दरबजारमा रहेको भक्ति नमूना माविको ५८ औं बार्षिकोत्सव एवं ५० औं अभिभावक दिवसका अवसरमा शुक्रबार भोटेओडारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भौतिक रुपमा सम्पन्न र तालिमप्राप्त शिक्षक हुँदा पनि सामुदायिक  विद्यालयमा शैक्षिक स्तर खस्कनुलाई सकरात्मक रुपमा लिन नसकिने बताए । उनले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम भयो भनि चिन्ता गर्नु भन्दा शैक्षिक गुणस्तर सुधारमा लाग्ने हो भने विस्तारै विद्यार्थीै संख्या पनि बढ्दै जाने बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु देशैभरको समस्या हो भन्दै उनले यसको चिन्ता नगरी कसरी शैक्षिक गुणस्तर बढाउन सकिन्छ भन्नेमा शिक्षक अभिभावक दत्तचित्त भएर लाग्न र विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन अनुरोध गरे । विद्यालयहरुको सुधारका लागि विद्यालय सेवा क्षेत्रका राजनैतिक दल, शिक्षक, ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी  जनप्रतिनिधिहरुले आफ्नो ठाउँबाट सकेको योगदान गर्ने हो भने अनुशासित र दक्ष  जनशक्ति उत्पादन गर्न सकिने उनले सो अवसरमा बताए ।

मन्त्री पौडेलले प्रदेश सरकारले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिशेष बिद्यालय छनोट गर्न लागेको जानकारी दिँदै लमजुङबाट भक्ति नमूनालार्ई बिशेष बिध्यालयमा छनोट गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यको अध्यक्षतामा भएको बार्षिकोत्सवका अवसरमा विभिन्न छात्रछात्रालाई छात्रबृत्ती प्रदान गरिएको थियो । सोही अबसरमा मन्त्री पौडेलले विद्यालयमा योगदान गरेका ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व बिध्यार्थी समाजका अध्यक्षसहित, उत्कृष्ट बिध्यार्थी र अभिभावकहरुलाई पनि सम्मान गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अबसरमा सुन्दरबजार नगरपालिका वडा नं. ८ का अध्यक्ष विजेन्द्र थापा, वडा नं. ९ का वडा अध्यक्ष मनराज गुरुङसहितका जनप्रतिनिधि, ब्यबस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

बार्षिकोत्सवमा लोकप्रिय गायक राज सिग्देल र लोकदोहोरी गायक बिबेक धितालले सांगीतिक प्रस्तुती दिएका थिए । यसबाहेक विद्यालयका छात्रछात्राहरुले विभिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस अबसरमा माविस्तरीय भलिबल, अन्तर मावि हाजिरीजवाफ, अन्तर मावि गायन प्रतियोगिताका साथमा अभिभावकबीच घैटो फुटाई र डोरी तान्ने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया