बेसीशहर, माघ २० । नेवारी संस्कृतिकाे संरक्षण र नेवारी खानाकाे सम्बर्द्धन गर्ने उद्देश्यले लमजुङकाे सुन्दरबजारमा प्रथम यःमरी उत्सव २०८० आयाेजना गरिएकाे छ ।
उत्सव माघ १९ गते सुन्दरबजारकाे मेनराेडमा आयाेजना गरिएकाे थियाे । सुन्दरबजारमा पहिलाे पटक गरिएकाे यःमरी उत्सवमा लमजुङ र तनहूँका सयाैं नागरिकले सहभागिता जनाएका थिए । कार्यक्रममा सुन्दरबजारकाे सडकमै स्थानीय नेवार समुदायले पकाएकाे यःमरी लगायत नेवारी परम्परागत खानाकाे स्वाद बाँडिएकाे थियाे । नेवारी खाना य:मरि अत्यन्तै पोषिलो र स्वादिलाे भएकोले आफूले याे चिसाे माैसममा पनि थपी थपी खाएकाे भोटेवडारका निपेन्द्र श्रेष्ठले बताए।

य:मरि बनाउँदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । य: मरि मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको य: मरि बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिएकाे सुन्दरबजारका लमजुङ उद्याेग बाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठले बताए ।

यःमरी उत्सवकाे सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले उद्घाटन गरेका थिए । साे अवसरमा बाेल्दै काेइरालाले यस्ता उत्सवले बजारको ब्यापार ब्यबसाय प्रबर्द्धन हुनुका साथै नेवारी संस्कृतिको पनि जगेर्ना हुने बताए।
कार्यक्रममा सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मी , सुन्दर बजार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नवीन कुमार श्रेष्ठ , सुन्दर बजार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेशबाबु कोइराला , नेकपा एमालेका सुन्दर बजारका प्रतिनिधि द्वारिकाप्रसाद मिश्र, सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ , नेवा दे बयु गण्डकी प्रदेशका उपाध्यक्ष बिधादेवी श्रेष्ठ , सदस्य शान्ति श्रेष्ठ , मातृभुमी क्याम्पसका प्रमुख रामलाल श्रेष्ठ , एभरेस्ट साकोसका अध्यक्ष राम बाबु श्रेष्ठ , सयपत्री माबि का प्रिन्सिपल ज्ञानेन्द्र शर्मा ,लमजुङ उद्याेग बाणिज्य संघ सुन्दर बजारका कोषाध्यक्ष सुरेन्द्र घिमिरे , सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडा सदस्य मुरली कुमाल लगायतले उत्सव सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष नबराज श्रेष्ठले यो प्रथम उत्सबको सिकाईले आगामी बर्ष य: मरि महोत्सब गर्ने सो को लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा रहेकोे बताए। कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको नेवा: खल सुन्दर बजारका निबर्तमान अध्यक्ष सुरेन्द्र मान श्रेष्ठले बताउनु भयो। कार्यक्रमको सन्चालन उधोग बाणिज्य संघ सुन्दर बजारका अध्यक्ष एबम नेवा खल सुन्दर का सल्लाहकार आनन्द राज श्रेष्ठले र धन्यवाद ज्ञापन नेवा देबयु गण्डकी प्रदेशका सदस्य सुमित्रा देबी श्रेष्ठले गरेका थिए । उत्सबमा सयपत्री मा बि र बालज्योती मा बि का बिद्यार्थीहरुले नेवारी गीतमा नृत्य प्रस्तुत गरे ।
कार्यक्रमलाई सफल बनाउन सुन्दर बजार नगरपालिका वडा नम्बर ७ , ग्लोबल एग्रो प्रोडक्टस प्रा लि भरतपुर चितवन र गोर्खा ब्रुअरी प्रा लि ले प्रायोजन गरेका थिए