बेसीशहर, फागुन २६ गते । लमजुङको पाउँदीढिकमा प्रहरी चौकी भवन निर्माण भएको छ। नवनिर्मित भवनको प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ईन्जिनियर फणिन्द्र बरालले उद्घाटन गरे ।
२ करोड २८ लाख ४३ हजार ४७६ रुपैयाँको लागतमा निर्माण भएको भवनको उद्घाटनका अवसरमा जानकारी दिइएको छ । यस अघि पाउँदीमा सामान्य प्रहरी विटबाट सेवा दिँदै आएको प्रहरीले सुविधा सम्पन्न भवन निर्माण पछि प्रभावकारी सेवा सञ्चालन गने विश्वास लिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक बरालले प्रहरीको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कार्यालय भवनको पनि ठूलो महत्व हुने भन्दै आधुनिक भवनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए । उनले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रहरीले जनताको हितमा प्रभावकारी काम गर्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले प्रहरी सेवाको प्रभावकारिता बढाउन कार्यालय ब्यवस्थापन जरुरी हुने भन्दै दत्तचित्त भएर शान्ति सुरक्षा कायम गर्न खट्न प्रहरीलाई निर्देशन गरे ।
कार्यक्रममा सुन्दरबजारका निवर्तमान मेयर जनकराज मिश्र, वडा नंं ७ का वडा अध्यक्ष जयराम रेग्मीलगायतका वक्ताहरुले शान्ति सुरक्षाका लागि प्रहरीले खेलेको भूमिकाको सराहना गर्दै सुविधा सम्पन्न भवनबाट प्रहरीले थप प्रभावकारी सेवा दिने विश्वास ब्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बरालले भवन निर्माणमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ई. धु्रब अधिकारीले भवन निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
३ रोपनी १ आना ३ दाम क्षेत्रफल जग्गामा बनेको भवन साढे २ तलाको छ । नवनिर्मित प्रहरी चौकी भवनमा ९ कोठा छन् । भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, कार्यालय प्रमुख कक्ष, ड्युटी अफिसर कक्ष, हवल्दार र जवानहरुको कक्ष, महिला ब्यारेक, किचन र डाइनिङको ब्यवस्था रहेको र उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २ जना ट्राफिक सहित ८ जना प्रहरी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गुरुङले जानकारी दिइन् ।
खबरकुञ्ज