पाेखरा, माघ २२ । सहकारी ठगीमा संलग्न रहेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेकाे छ ।
पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनसहित पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।
सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगिएको र टेलिभिजनको प्रबन्ध निर्देशककाे रूपमा त्यतिबेला लामिछाने कार्यरत रहेकाले उनलाइ पनि छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षले माग गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरीमा लामिछाने लगायतमाथि उजुरी परेकाे पुष्टि गरेका छन् ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा साे सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पुर्पक्षका लागि थुनामा छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । साे सहकारीका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको बचतकर्ताकाे जाहेरीमा भनिएकाे छ ।