कार्यसम्पादन मूल्याङ्कनमा लमजुङकाे मध्यनेपाल नगरपालिका जिल्ला प्रथम

बेसीशहर । कार्यसम्पादन मूल्याङ्कनमा लमजुङकाे मध्यनेपाल नगरपालिका जिल्ला प्रथम भएकाे छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा लमजुङको मध्यनेपाल नगरपालिका ४२.१८ अंकका साथ जिल्लामा सर्वाेत्त्कृष्ट भएको हाे ।

आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकहरूको मूल्याङ्कन गरी अंक प्रदान गर्ने गर्छ। याे मूल्याङ्कनमा जिल्लाकाे मध्यनेपाल नगरपालिका पहिलाे र दूधपाेखरी गाउँपालिका अन्तिम स्थानमा छ।

कार्यसम्पादन मूल्याङ्कन अनुसार दाेर्दी गाउँपालिका जिल्लाभर दाेस्राे स्थानमा छ । याे पालिकाले कूल ४०.६७ अङ्क प्राप्त गरेकाे छ । बेसीशहर नगरपालिकाले ३९.१२ अङ्क प्राप्त गरी तेस्राे स्थान पाएकाे छ ।

कार्यसम्पादन मूल्याङ्कनमा सुन्दरबजार नगरपालिकाले ३६.८३ अङ्क प्राप्त गरी चाैथाे स्थानमा छ । ३५.६५ अङ्कका साथ मर्स्याङदी गाउँपालिका पाँचाै स्थानमा, ३२.३८ अङ्कका  साथ राइनास नगरपालिकाले छैटाैं स्थान बनाएकाे छ । त्यस्तै २९.९० अङ्कका साथ क्व्हाेंलसाेंथार गाउँपालिकाले साताैं स्थान पाएकाे छ भने २७.२४ अङ्क मात्र प्राप्त गरी दूधपाेखरी गाउँपालिकाले अन्तिममा स्थान बनाएकाे छ ।

स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनका लागि बिभिन्न १७ सूचक र अन्य उपसूचकहरु निर्धारण गरिएको थियाे । 

कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ बमोजिम गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगर सभामा पेश गरे/नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहले घर जग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्‍जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरुपमा प्रदेश सञ्‍चित कोषमा जम्मा गरे/नगरेको, स्थानीय तहले आगामी आ.व.का लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण चालु आ. व.को पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोजस्ता सूचकहरु रहेका थिए ।

प्रतिक्रिया