बेसीशहर, पुस २० । गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक ठूलो पुरस्कार राशी रहेको ३२ औं त्रिवेणी कप राष्ट्रिय नकआउट प्रतियोगिता २०८१ को उपाधि विभागीय टीम एपिएफ फूटबल क्लवले उचालेको छ ।
लमजुङ सदरमुकाम बेसीशहरमा आज सम्पन्न फाइनलमा बुद्ध युथ क्लव (बिवाइसी) भोटेओडारलाई ट्राइबेकरमा ४–३ ले स्तब्ध पार्दै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको एपिएफले त्रिवेणी कपका साथमा नगद १२ लाख पुरस्कार जित्दै ईतिहास रच्न सफल भयो ।
खेल अबधिभर एपिएफलाई दबाबमा राखेको बीवाइसीले उत्कृष्ट प्रदर्शन गरे पनि ट्राइबेकरमा एपिएफसंग माथ खाँदा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
निर्धारित समयमा दुबै टीम २–२ गोलको बराबरीमा रोकिएपछि थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो । वीवाइसीका लागि समिर तामाङले खेलको १३ औं मिनेटमा पहिलो गोल गरी शुरुवाती अग्रता दिलाएका थिए । तर ३१ औं मिनेटमा एपिएफका लागि प्रदिप लामाले बराबरी गोल फर्काए ।
५१ औं मिनेटमा एपिएफका लागि कप्तान हरि कार्कीले अर्को गोल गरी टीमलाई २–१ को अग्रता दिलाए तर खेलको अतिरिक्त समयमा बीवाइसीका समिरराज थोकरले पुनः टीमका लागि अर्को गोल गरी खेललाई बराबरीमा ल्याए ।
ट्राइबेकरमा एपिएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सुजन कुमार पुलामी र सबिन गुरुङले गोल गरे । तेस्रो पेनाल्टी प्रहार गरेका मनिकुमार लामाको प्रहार बिवाइसीका गोलरक्षक कुशल मोक्तानले सहजै रोकिदिए ।
एपिएफका लागि राम थापा मगर, आश्विन घोरासैनी, मिसन लामाले गोल गरे । तेस्रो पेनाल्टी हानेका बीवाइसीका लक्षु थापा मगरको प्रहार एपिएफका गोल रक्षक एन्जल श्रेष्ठले रोकिदिए । बीवाइसीका कप्तान सचिन थापा मगरको प्रहार पोष्टबाहिर गएपछि एपिएफ उपाधिको हकदार बनेको थियो।
यो प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लवले प्रि क्वार्टर फाइनलमा सामना युथ क्लव तनहूँ, क्वार्टर फाइनलमा मच्छिन्द्र क्लव काठमाडौं र सेमीफाइनलमा आयोजक त्रिवेणी युवा क्लवलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको एपिएफका लागि उपाधि चुम्न निकै कठिनाइको समना गर्नु परेको थियो ।
त्यस्तै त्रिवेणी कपमा आफूलाई पटक पटक सावित गरिसकेको बुद्ध युथ क्लव भोटेओडार सशक्त टीम हुँदा हुँदै पनि ट्राइबेकरमा चुकेपछि उपाधिबाट बञ्चित भयो ।
उपाधिसँगै एपिएफले १२ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । दोस्रो भएको बिवाइसीले ६ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पायो ।
सेमिफाइनलमा पुगेका श्री भगवती क्लब टोखा र आयोजक त्रिवेणाी युवा क्लबले समान २ लाख रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा बिवाइसीका इमानुयल सर्वाेत्कृष्ट खेलाडी र एपिएफका प्रदिप लामा सर्वाधिक गोलकर्ता घोषित भई जनही २५ हजार रुपैयाँसँगै ट्रफी र मेडल प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल र क्लबका अध्यक्ष राज कुमार घिमिरेलगायतले पुरस्कार, पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरेका थिए ।
मिलन शर्मा दनाई