बेसीशहर । हिमालपारी मनाङमा शुक्रबारदेखि शुरू भएकाे परम्परागत यार्तुङ पर्व चार दिनपछि समापन भएकाे छ । हरेक बर्ष यसै समय मनाङीहरू हर्षाेल्लासका साथ यार्तुङ पर्व मनाउने गर्छन् ।
यार्तुङलाइ घाेडेजात्रा पनि भनिन्छ । यस पर्वमा मनाङीहरू घाेडा कुँदाएर मनाेरञ्जन लिने दिने गर्छन् । पर्यटकीय क्षेत्र भएकाले मनाङमा यार्तुङकाे बिशेष महत्व र राैनक हुन्छ । याे मनाङीहरूकाे मुख्य पर्वमध्ये एक भएकाले बिशेषगरी युवा अवस्थाका पुरूषहरू परम्परागत भेषभुषामा सजिएर एक ठाउँमा जम्मा हुन्छन्,परम्परागत बाजागाजा र माैलिक गीत गाउदै गाउँ परिक्रमा गर्ने चलन छ । यसबीचमा यार्तुङ पर्वकाे शुभकामना अादनप्रदान गर्ने घाेडा कुँदाएर मनारञ्जन लिने गरिन्छ ।

पुरूषहरू घाेडा कुँदाएर फर्कदा महिलाहरू सगुन, खादा लिएर उनीहरूकाे स्वागतमा तम्तयार भएर बसेका हुन्छन् । घाेडा कुँदाउने काम सकिएपछि सबै भेला भएर सगुन खाइ नाचगान गरी रमाइलाे गर्ने चलन छ ।

केही बर्ष अघिसम्म मनाङमा घाेडा नै यातायातकाे साधन थियाे । सडक सञ्जालसंग नजाेडिँदा एक ठाउँबाट अर्काे ठाउँ जान मनाङीहरू घाेडा नै प्रयाेग गर्थे । अझै पनि मनाङमा घाेडाकाे प्रयाेगमा कमी छैन । यातायातमा घाेडाकाे प्रयाेग बढी हुने र सुख दुःखमा घाेडाकाे साथ हुने हुनाले मनाङीहरू घाेडालाइ निकै प्रेम पनि गर्छन् । यार्तुङ पर्व त्यही प्रेमकाे प्रतीक पनि हाे ।

यार्तुङ कहिलेदेखि मनाउन थालियाे भन्ने यकीन छैन । तथापि मनाङीहरू परम्परादेखि नै याे पर्व मनाउने गरिएकाे बताउँछन् । कतिपयलाइ किन मनाइन्छ भन्ने पनि थाह छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्छन्– "किन मनाइन्छ भन्ने त थाह छैन, परम्परादेखि मनाउने चलन हाे । परम्परा मर्न नदिन हामीले पनि मनाउँदै आएका छाैं।"

यद्यपी यार्तुङ मनाङीहरूकाे धार्मिक, सामाजिक र सांस्कृतिक धराेहर हाे । बर्खा याम सकिन लाग्दा मनाइने भएकाले यस पर्वमा खेतीपाती, बालीनाली राम्राे हाेस् र राेगब्याध नलागाेस् भन्ने कामनाका साथ याे पर्व मनाइने मनाङ ङिस्याङका पर्यटन ब्यवसायी तथा समाजसेवी विनाेद गुरूङ बताउँछन् । गुम्बामा पूजा गरी शुरू हुने याे पर्व गाउँ परिक्रमा गर्दै पुनः गुम्बामा पूजा गरी बिसर्जन गर्ने चलन रहेकाे उनले बताए ।

मनाङका विभिन्न भागमा छुट्टाछुट्टै रूपमा यार्तुङ मनाउने गरिन्छ । पछिल्लाे समय तल्लाे मनाङमा यार्तुङ हराउन थाले पनि माथिल्लाे मनाङमा भने याे पर्व जीवितै छ । माथिल्लाे मनाङका टंकी, खाङसार, घ्यारू, ङावल, हुम्डे, भ्राका, पिसाङलगायतका स्थानमा हर्षाेल्लासका साथ याे पर्व मनाइन्छ ।

