जाेखिम बढेपछि माथिल्लो मर्स्याङदी ए को बाँध क्षेत्रमा प्रहरीले लगायाे घेराबार

खबरकुञ्ज

बेसीशहर, भदाै ३ । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ७ मा पर्ने माथिल्लो मर्स्याङदी ए को बाँध क्षेत्रमा प्रहरीले घेराबार लगाएको छ । 

पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बनेको यो ठाउँमा दुर्घटनाको जोखिम बढेपछि प्रहरीे घेराबार लगाएकाे हो । बाढीका कारण मच्चिएर बहेको मर्स्याङदीको किनारमै जाँदा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले नदी किनारमा घेराबार लगाएको हो ।

पछिल्लो समय माथिल्लो मर्स्याङदी  ए जलविद्युत आयोजनाको बाँध मुन्तिरको क्षेत्र निकै लोकप्रिय बनेको छ । यहाँको दृष्यसंग रमाउन, फोटो तथा  भिडियो खिच्न र टिकटक बनाउन टाढा टाढादेखिका आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । यसबाहेक उक्त स्थानमा गएर माछा मार्नेहरुको संख्या पनि उत्तिकै हुने गर्दछ । यस क्षेत्रकाे फाेटाे भिडियाे सामाजिक सञ्जालमा निकै रूचाइएका छन् ।

यतिबेला बर्षातको समय रहेकाले मस्र्याङदीको बहाब उच्च छ । हिउँदमा मर्स्याङदीको सबै पानी जलविद्युत आयोजनाको सुरुङबाट जाने भएकाले नदी सुख्खा हुने भए पनि अहिले बर्षातका बेला नदी नराम्ररी उर्लिएको छ । यसरी उर्लिएको मर्स्याङदीको किनारमै पुगेर फोटो भिडियो खिच्दा साबधानी नअपनाए दुर्घटनाको जोखिम हुने भएकाले घेराबार लगाउनु परेको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रेशम बोहराले खुदी प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले नदी किनारामा घेराबार लगाएका जानकारी दिए ।

खुदी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रञ्जन अम्गाईले नदी किनारमा जोखिम रहेको स्थानमा करीब १५ मिटर घेराबार लगाइएको बताए । मर्स्याङदी किनारमा कटान हुनबाट जोगाउन लगाइएको ग्याविन वालमा बलियोसंग बाँस गाडेर घेराबार लगाइएको उनले जानकारी दिए ।

उक्त जाेखिम क्षेत्रमा यस अघि ४ जनाले ज्यान गुमाएका प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया