कांग्रेस एमालेले अब बुथमा बस्ने प्रतिनिधि पनि भेट्दैननः रास्वपा महामन्त्री बुर्लाकाेटी

खबरकुञ्ज

बेसीशहर, मंसिर २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई हिरासतम राखेर उनी र रास्वपालाई सिध्याएँ भन्ने नसोच्न सत्तारुढ गठबन्धनलाई चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको जिल्ला भेलामा बोल्दै बुर्लाकोटीले रवि लामिछानेलाई जेलमा राखेर रास्वपालाई सिध्याउने योजना बनाइए पनि रास्वपाको जनमत अरु बढेको बताए । उनले भने– “रविलाई जेलमा राख्दा त रास्वपाभित्र यति धेरै जनलहर छ, रवि बाहिर आए कस्तो होला ? आगामी निर्वाचनमा कांग्रेस एमालेले उमेदवार त पाउलान तर बुथमा बस्ने प्रतिनिधि भेट्ने छैनन् ।”

भेलामा प्रमुख बक्ताको रुपमा बोल्दै उनले ३५ बर्षदेखि यो देशमा कुशासन दिएर भ्रष्टाचारमा लिप्त कांग्रेस एमालका नेताहरुले रवि लामिछाने सत्तामा रहे आफूहरु नै फस्ने भएकाले उनलाई षडयन्त्रपूर्वक झुटा मुद्दामा फसाएर हिरासतमा राखेको बताए । 

रास्वपा लोककल्याणकारी राज्यको स्थापनाका लागि आएको भन्दै भ्रष्टाचारले चुर्लुम्म डुबेको देशलाई जोगाउन र मुलुकलाई सुशासन दिएर समृद्धि हासिल गर्न रास्वपाको विकल्प नभएको ठोकुवा गरे ।

बुर्लाकोटीले कांग्रेस एमालेले मुलुकका हरेक तह र तप्कामा राजनीति घुसाएको भन्दै अदालतलाई समेत पकेटमा राखेको र यसकै बलमा रवि लामिछानेलाई उम्कन नदिने षडयन्त्र बुने पनि रास्वपालाई अझै पनि अदालतप्रति भरोसा रहेको बताए ।


कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं रास्वपाका केन्द्रीय सदस्य शिशिर खनालले रास्वपालाई खहरेको भेल भन्नेहरु अहिले रास्वपा सागर हुँदै महासागर बन्न लागेको देखेर रास्वपालाई सिध्याउन सभापति लामिछानेलाई पक्राउ गरि बदनाम गराइएको बताए । 

रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमले रवि लामिछाने र रास्वपाको लोकप्रियताले डराएर सभापति लामिछानेलाई झुटा मुद्दामा फसाइएको जिकिर गरे । उनले रास्वपालाई सिध्याउन सभापति रवि लामिछानेलाई हिरासतमा लिइएको दावी गर्दै हिम्मत भए लामिछाने हिरासतमा रहेकै बेला मध्यावधी निर्वाचन गराउन चुनौति दिए । सभापति लामिछाने हिरासतमा रहे पनि पार्टीले दुई तिहाई ल्याउने उनको दावी थियोे । उनले रवि लामिछानेसंगै हजारौं सहकारी पीडितहरुको न्यायका लागि रास्वपा लडिरहेको बताए । प्रदेश सभापति गौतमले आगामी निर्वाचनमा रास्वपालाई गण्डकी प्रदेशको पहिलो पार्टी बनाउने उद्घोष गर्दै लमजुङमा पनि रास्वपालाई पहिलो पार्टी बनाउन कार्यकर्ताहरु जागरुक हुनुपर्ने बताए ।


प्रतिक्रिया