लमजुङमा रास्वपाबाट धर्म केसी उमेदवार, अरू दलका उमेदवारकाे धराैटी जफत हुने दावी

खबरकुञ्ज

बेसीशहर, माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी उमेदवार बन्ने भएका छन् ।

रास्वपाले केसीलाई आइतबार लमजुङबाट प्रतिनिधि सभा सदस्य उमेदवारको रुपमा टिकट दिएको हो । ऊर्जा, जलवायु परिवर्तन तथा दिगो विकास क्षेत्रका विज्ञ, वातावरण ईन्जिनियरिङमा स्नातकोत्तर गरेका केसीले टिकट पाएपछि लमजुङमा रास्वपा नेता कार्यकर्तामा उत्साह भरिएको छ ।

धर्म केसी गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको तर्फबाट लमजुङबाट उमेदवार बनेका थिए । पार्टी स्थापना भएको चार महिनामै विना कुनै संगठन दुईचार जना साथीहरुलाई लिएर निर्वाचनमा होमिएका केसीले आशा गरे भन्दा निकै बढी ९ हजार ३३ मत पाएका थिए ।  

यस पटक देशब्यापी रुपमा रास्वपाको लोकप्रियताका बीच केसी पुनः प्रतिनिधि सभा निर्वाचनमा विजयी हुने गरी लमजुङ आइपुगेका छन् । मंगलबार उमेदवारको मनोनयन गर्ने कार्यक्रम रहे अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गरी निर्वाचन प्रचार प्रसारमा होमिने उनको तयारी छ ।

अघिल्लो निर्वाचनमा नयाँ खुलेको रास्वपाको अहिले लमजुङका सबै स्थानीय निकायमा संगठन बनिसकेको छ । रास्वपा लमजुङका सभापति अशोक सापकोटाले संगठन विस्तार संगै देशभर रास्वपाको पक्षमा जनलहर फैलिँदै गरेका बेला लमजुङे जनताले रास्वपा र केसीलाई अत्याधिक मतले विजयी गराउने विश्वास ब्यक्त गरे । लमजुङका जनता परिवर्तनको पक्षमा छन् । दशकौं सम्म विभिन्न पार्टीका नेताहरुलाई मतदान गरेर पनि जिल्लाको विकासका लागि खासै काम नभएपछि अब विकास र समृद्धिका लागि जनताले रास्वपाका उमेदवारलाई अत्याधिक मतले विजयी गराउने उनले विश्वास ब्यक्त गरे ।

सभापति सापकोटाले लमजुङबासी बा ,आमा दाजु भाई तथा दिदीबहिनीहरुले यही आउँदो फाल्गुण २१ गते सम्पन्न हुन गईरहेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ का उम्मेद्वार युवा नेता, ऊर्जा, जलवायु परिवर्तन तथा दिगो विकास विज्ञ, वातावरण ईन्जिनियरिङमा स्नातकोत्तर, तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ र वर्तमान मन्त्री डा. महाबीर पुनको प्रमुख सल्लाहकार समेत रहिसकेका ई धर्म राज के.सी लाई मतदान गरी अत्यधिक बहुमतले जिताउन अपील गरेका छन् ।

केसी रास्वपाको उमेदवार बनेपछि रास्वपाबाटै प्रतिनिधि सभा सदस्यमा उमेदवारको आकांक्षी रहेका पद्मराज पन्थीले पनि फेसबुकमार्फत केसी र अर्का नेता निर्देश सिलवालसहितको तस्वीर साझा गर्दै आफूहरु एकढिक्का भएर रास्वपा उमेदवारलाई जिताउन जिल्ला आउँदै गरेको बताएका छन् । 

अर्का आकांक्षी उमेदवार निर्देश सिलवालले पनि रास्वपा लमजुङको उम्मेदवार बनेकामा केसीलाई बधाई र शुभकामना दिएका छन् । उनले फेसबुकमा लेखेका छन्– “म लमजुङ मै खट्छु । पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन मेरो पुर्ण साथ–समर्थन रहन्छ । यस क्रममा मलाई हरतरहको सहयोग गर्नुहुने तपाईहरु मेरो स्मृतिमा सदा रहनुहुनेछ । देशको सेवा गर्ने मेरो चाहनामा कुनै कमी भएको छैन । बरु अझै बढेको छ ।”

रास्वपा लमजुङका नेता भोला शर्माले अब पुराना दलका पुराना नेताहरुलाई पन्छाउँदै लमजुङे जनताले रास्वपाका उमेदवार केसीलाई विजयी गराउने बताए । चालीसौं बर्षदेखि उमेदवार मात्रै बन्ने, जिल्लाको विकासमा खासै काम नगर्ने, तर सधैं आफै मात्र उमेदवार बन्न खोज्ने उमेदवारलाई यसपटक लमजुङे जनताले अस्वीकार गर्ने उनले दावी गरे ।

उमेदवार केसीले पनि आफू सहजै निर्वाचन जित्ने दावी गरेका छन् । उनले आफू पार्टी स्थापनाको छोटो समयमा पार्टीको उमेदवार बन्दै गर्दा पनि जनताको अत्याधिक माया पाएको र अहिले रास्वपाको पक्षमा जिल्ला र देशैभर लहर चलेकोले आफ्नो जीत सुनिश्चित रहेको बताए । उनले परम्परागत शक्ति भनिएका कांग्रेस एमालेकै कार्यकर्ता उनीहरुको पक्षमा नरहेकाले कांग्रेस एमालेका उमेदवारको धरौटी जफत हुने दावी गरेका छन् । उनले राजनीतिक जीवनको उत्तरार्धमा धरौटी जफत हुने गरी उमेदवार नहुन पनि विपक्षी उमेदवारहरुलाई सुझाव दिएका छन् ।

लमजुङमा नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र नेकपाबाट हरिजंग तामाङ उमेदवार हुने टुंगो लागिसकेको छ । नेपाली कांग्रेसबाट यो समाचार तयार हुँदासम्म उमेदवारको टुंगो लागेको छैन ।

प्रतिक्रिया