घनपोखरामा १७ औं संस्करणको युनाइटेड कप फुटबल आयोजना हुने

खबरकुञ्ज

बेसीशहर, मंसिर ५ गते । लमजुङको घनपोखरामा यही मंसिर २४ गतेदेखि १७ औं संस्करणको युनाइटेड कप फुटबल आयोजना हुने भएको छ । 

मर्स्याङदी गाउँपालिकाको वडा नंं २ मा रहेको युनाइटेड विच युवा क्लवको आयोजनामा घनपोखराको खुदीखोला केकेम मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा मर्स्याङदी गाउँपालिकाभित्रका ९ वटै वडाका १८ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता टीमले नगद १ लाख रुपैयाँ, ट्रफी, स्वर्णपदक र प्रमाण पत्र र उपविजेताले ६० हजार रुपैयाँ, ट्रफी, रजत पदक र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सेमीफाइनल पुग्ने अन्य दुई टीमले नगद १५/१५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा अनुशासनपूर्वक खेल्ने टीमलाई नगद नगद १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार राखिएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पुरस्कार दिइने छ ।

प्रतियोगिताबारे जानकारी गराउन बुधवार बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भक्तबहादुर गुरुङले विगतका बर्षहरुमा ल्होसारको अवसरमा आयोजना हुने प्रतियोगिता यस बर्ष विद्यालयहरुमा हुने परीक्षाका कारण अगाडि सारिएको जानकारी दिए । 

प्रतियोगिताका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको र कालिज टिपाइ, कुर्चीचाल, घैंटो फुटाइ, रिले दौडका साथमा महिला तथा पुरुषहरुको छुट्टाछुट्टै डोरी तान्ने प्रतियोगिता पनि गरिने गुरुङले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न गर्न १० लाख ७ हजार रुपैयाँ अनुमानित खर्च हुने जानकारी गराइएको थियो ।

प्रतिक्रिया