बेसीशहर, बैशाख ३१ गते । लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नियम कानुनमा कडा र ब्यवहारमा नरम भएर प्रस्तुत हुन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
ट्राफिक सप्ताह २०८१ समीक्षा तथा समापन समारोहका अवसरमा बेसीशहरमा सोमबार आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले सवारी साधनको चेकजाँचका क्रममा कारबाही गर्नुपरेमा कानुन अनुसार कारबाही गर्न पछि नहट्न आग्रह गरे । सो अवसरमा उनले ट्राफिक प्रहरीले मात्र दुर्घटना न्युनिकरण गर्न नसक्ने भन्दै उनले सबै पक्षले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए । उनले भने-“कानुन अनुसार गर्नुपर्ने हरेक काम गर्नुस्, तर दुर्घटनाको दर घट्नु पर्यो । उनले सवारी साधनलाई कारबाही गरेर राजस्व बढाउनु भन्दा कारबाही गर्ने वातावरण बनाउनै नदिनेतर्फ सचेत हुन आग्रह गर्दै भने-“राजस्व घट्यो भनी चिन्ता नगर्नुस ।”
सो अवसरमा उनले बेसीशहरका बसपार्क ब्यवस्थापनमा ध्यान दिने उनले प्रतिबद्धता जनाए । उनले बेसीशहरमा सञ्चालन भएका अटोरिक्साले नियम कानुन मिचेको आफूले पाएको भन्दै सवारी साधनको भाडा दरसमेत भाडादर पुनरावलोकन गरिने जानकारी दिए । छिमेकी जिल्ला गोरखा र तनहूँको तुलनामा लमजुङमा तेब्बर बढि भाडा लिने गरिएको भन्दै उनले आश्चर्य समेत ब्यक्त गरे । उनले सडक, चालकको मानसिक अवस्था, सवारी साधनको अवस्थाले पनि दुर्घटना हुने गरेको पाइएकाले न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको चर्चा गरे । उनले बेसीशहरको बजारमा ट्राफिक संकेत राखिएको ठाउँमा नो हर्न लेख्नु पर्नेमा ठाउँमा हर्न प्लिज लेखिएको भन्दै आश्चर्य ब्यक्त गरे ।
उनले बेसीशहर नगरपालिकाका मेयरलाई लक्षित गर्दै ट्राफिक सप्ताहको उदघाटन गर्नुभन्दा भन्दा बजारमा ट्राफिक लाईट, संकेत तथा सिसि क्यामरा राखिदिएको भए जाति हुन्थ्यो भने ।
कार्यक्रममा सहभागीहरुले बेसीशहरमा रहेका दुईवटा बसपार्कको ब्यवस्थापन हुन नसकेको, अटो रिक्साहरुले मनलाग्दी भाडा असुल्ने गरेको तथा इजाजत नभएका कच्ची सडकहरुमा समेत गुड्ने गरेको, अधिकांशको लाइसेन्स र रुट परमिट नभएको, सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिइएको, सवारी साधनहरु तीब्र गतिमा हुँइक्याउने गरिएको, ट्राफिक प्रहरीले मनलाग्दी चिट काट्ने गरेको लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर गुरुङले सार्वजनिक यातयातमा समस्या रहेको बिषयमा धेरै सकरात्मक कुरा उठान भएकामा सहभागीलाई धन्यवाद दिए । उनले गत साउनदेखि बैशाखसम्म लमजुङमा विभिन्न स्थानमा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको र १२७ जना घाईते भएको जानकारी दिए । उनले दुर्घटना हुनुमा तीनवटा “ई” ले प्रभाव पार्छ भन्दै पहिलो “ई” सवारी साधन र सडकको इन्जिनियरिङ, दोस्रो एजुकेशन अर्थात चालक, यात्रु र पैदल याुत्रमा सडक सुरक्षा सम्बन्धी शिक्षा र तेस्रो “ई” भनेको इनफर्मेसन ट्राफिक सचेतना रहेको चर्चा गरे ।
ट्राफिक ब्यबस्थापन, दुर्घटना न्युनिकरण, सडक अनुशासन कायम गर्न गण्डकी प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालयको समन्वय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय लमजुङको आयोजनामा गत मंगलबारबाट ट्राफिक सप्ताह मनाइएको थियो । । यसक्रममा प्रभातफेरि, उदघाटन, प्रशिक्षण, जनचेतनमूलक कार्यक्रम गरिएको थियो ।