बेसीशहर । झण्डै एक महिनाकाे अनवरत प्रयास पछि बेसीशहर नगरपालिका वडा नं. १० मा पर्ने भाचाेक खाेलामा स्थानीय प्रयासमा काठे पूलकाे निर्माण कार्य सम्पन्न भएकाे छ ।
गएकाे असार पहिलाे साता भाचाेक खाेलामा आएकाे बाढीले खाेलामा रहेकाे अस्थायी काठे पुल बगाएपछि स्थानीय बासीन्दालाइ निकै समस्या भाेग्नु परेकाे थियाे । बर्षातका बेला खाेलामा पुल नभएपछि स्थानीय बासीन्दा जाेखिम माेलेर खाेलाे तर्न बाध्य थिए ।
पुरानाे काठेपुल बाढीले बगाएपछि बेसीशहरकाे वडा नंं १० मा पर्ने खासुर, खासुरबेसी, देउजनथाेक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचाेक, सिरूवारी, भाचाेक बेसी लगायतका स्थानका स्थानीयलाइ आवतजावतमा समस्या भएपछि स्थानीय वडा कार्यालयकाे संयाेजनमा भाचाेक खाेलामा अस्थायी काठे पुल निर्माणकाे काम अघि बढाइएकाे थियाे ।

आर्थिक बर्ष समाप्तिकाे बेला भएकाले तत्काल कतैबाट याेजना र बजेट उपलब्ध हुने अवस्था नभए पनि स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका हुन् । उनीहरूकाे प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक याेजनासमेतकाे सहयाेगमा एक महिनाकाे प्रयास पछि खाेलामा अस्थायी काठे पुल निर्माण कार्य सम्पन्न भएकाे स्थानीय दूधप्रसाद घलेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसंगकाे समन्वयमा सशस्त्र प्रहरी, जनपद प्रहरी र नेपाली सेनाले समेत काठेपुल निर्माणका लागि श्रमदान उपलब्ध गराएका थिए । उनका अनुसार डुम्रे बेसीशहर चामे सडकले पुल निर्माणका क्रममा एक्साभेटर पठाएर सहयाेग गरेकाे थियाे । त्यस्तै बेसीशहर नगरपालिकाले बिपद काेषबाट पुलकाे जग बनाउन आवश्यक रड, सिमेण्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयाेग गरेकाे थियाे । वडा नं. १० का विभिन्न गाउँका गाउँलेहरूले कयाैं दिन श्रमदान गरेका थिए । पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएपछि कम खर्चमा पुल निर्माण कार्य सम्पन्न भएकाे वडा नं. १० का वडाध्यक्ष गंगाबहादुर थापाले जानकारी दिए ।

भाचाेक खाेला डुम्रे बेसीशहर चामे सडकको बैकल्पिक मार्ग पनि हाे । बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिराे जाँदा बेसीशहरबाट बाँझाखेत, भाचाेकबेसी, लेतेफाँट हुँदै माथिल्लाे मर्स्याङदीकाे पावर हाउस हुँदै नेपालकै पहिलाे सुरूङमार्गमा याे सडक जाेडिन्छ । बेसीशहरकाे वडा नं. १०, सिंगाे मर्स्याङदी गाउँपालिका र मनाङसम्मकाे आवागमनका लागि वैकल्पिक मार्गमा पर्ने भए पनि भाचाेक खाेलामा पक्की पुल प्रदेश तथा संघीय सरकारकाे प्राथमिकतामा नपरेकाेमा वडाध्यक्ष थापाले दुःख प्रकट गरे ।

केही समय अघि बेसीशहरकै वडा नंं १० उखुबारीमा यही खाेलामाथि पक्की माेटरेबल पुल निर्माण भएकाे थियाे । राजनीतिक पहुँचका आधारमा माेटरेबल पुल बने पनि अत्यावश्यक ठाउँमा पुल नबन्दा जनताले हैरानी ब्यहाेर्नु परेकाे वडाध्यक्ष थापाले गुनासाे गरे । उनले भने– "त्यहाँ पुल बनेकाेमा मेराे बिराेध हाेइन, तर त्यहाँ भन्दा बढी यहाँ पुलकाे आवश्यकता थियाे । "
अहिले बनेकाे काठेपुलमा माेटरसाइकल, साना जीप र एम्बुलेन्स चल्न सक्ने गरी निर्माण गरिएकाे वडाध्यक्ष थापाले जानकारी दिए ।