बेसीशहर, असार २३ । क्व्होलासोथार गाउँपालिका ९, गिलुङमा रहेको साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला र भिडियो एक्सरे सेवा समेत सञ्चालनमा ल्याई स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको छ ।
बुद्धोदय मावि गिलुङमा शुक्रबार आयोजित एक समारोहबीच स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषाणा गर्दै गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला र भिडियो एक्सरे सेवाको समेत उद्घाटन गरेका हुन् ।

नागरिकहरुलाई गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने पालिकाको योजना अनुसार साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला र भिडियो एक्सरे सेवाको शुरुवात गराइएको हो । यो सेवा सञ्चालनमा आएपछि क्व्होलासोथार गाउँपालिका वडा नं. ५, ६, ७, ८ र ९ का नागरिकहरुले सेवा पाउने छन् ।
गाउँपालिकाको आर्थिक चालु आर्थिक बर्षको वार्षिक स्वीकृत कार्यक्रममा विनियोजित रकमबाट आधारभूत प्रयोगशाला र भिडियो एक्सरे सेवा स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले जानकारी दिए।

सेवा सुभारम्भ गर्दे गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले विकट क्षेत्रमा पर्ने क्व्होलासोथारका सबै स्वास्थ्य चौकीहरुमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रयत्नशील रहेको जानकारी गराउँदै साल्मेमा स्थापित प्रयोगशाला र भिडियो एक्सरे सेवाबाट स्थानीय लाभान्वित हुने बताए । उनले सेवाको प्रभावकारिता र निरन्तरताका लागि गाउँपालिका हर तरहले लाग्ने बताए ।
“सदरमुकाम तथा अन्य शहरहरुमा उपचार गर्न जान यहाँबाट सहज छैन, सवारी साधनमा यात्रा गरेर पनि उपचार गर्न जान घण्टौं लाग्ने क्व्होलासोथारका नागरिकहरुको नियति र स्वास्थ्य सम्बेदनशीलताप्रति हामी जानकार छौं । यसर्थ नागरिकहरुले गाउँमै स्वास्थ्य सेवा पाउनु पर्छ भनेर हामीले काम गरिरहेका छौं ।”–अध्यक्ष सुर्यप्रसाद गुरुङले सो अवसरमा बताए ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले हरेक वडामा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रयत्नशील रहेको बताइन् । कार्यक्रममा क्व्होलासोथार गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष लक्षुमन गुरुङ, स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, शिक्षा शाखा प्रमुख दीपकराज पौडेल लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।
कार्यक्रम क्व्होलासोथार गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष एवम् साल्मेभञ्ज्याङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हुमराज गुरुङको अध्यक्षतामा भएको थियो ।
मिलन शर्मा दनाई