काठमाडाैं । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सदस्यता सुद्धिकरण अभियान अन्तर्गत साउन १० गते मातहतका जिल्ला शाखाका अधिकांश सदस्यकाे सदस्यता नविकरणमा कडाइ गरेपछि पत्रकारहरूमा सिफारिस भन्दा पर गएर निर्णय गरेकाे भन्दै नेकपा एमाले निकटकाे पत्रकारहरूकाे संगठन प्रेस चाैतारी नेपालले बिराेध जनाएकाे छ ।
यसकाे विराेध स्वरूप प्रेस चाैतारी नेपालले महासंघकाे लमजुङ र तनहूँ शाखामा तालाबन्दी गरेकाे छ । दुवै जिल्लाका चाैतारी निकटका पत्रकारहरूले बिहीबार दिउसाे महासंघकाे कार्यालयमा पुगी तालाबन्दी गरेका हुन् ।
प्रेस चाैतारी लमजुङले अास्थाका आधारमा अाफ्नाे संगठन निकट सदस्यहरुको नाम हटाइएको र अन्य संघठनका हकमा पत्रकारिता पेशामै नरहेकाहरूलाइ सदस्य बनाएकाे दावी गर्दै बिहीबार दिउसाे तालाबन्दी गरेकाे हाे ।
चाैतारी निकट पत्रकारहरूले शाखाका उपाध्यक्ष अनुज अधिकारीलाइ बिज्ञप्ती बुझाउँदै महासंघ केन्द्रकाे सदस्यता सुद्धिकरण समितिले तयार गरेकाे मापदण्ड अनुसार जिल्लामा गठित कार्यदलले छानवीन गरी ५६ जना सदस्यबाट २९ जनाकाे नविकरण र ६ जनाकाे नयाँ सदस्यताकाे सिफारिस गरेकाेमा त्यस विपरित महासंघकाे प्रदेश समितिले साउन १० गते शाखाकाे सदस्यता नामावली सार्वजनिक गरेकाेमा असहमति जनाएका छन् ।
प्रेस चाैतारी लमजुङका उपाध्यक्ष सुरज गुरूङ र सचिव सराेज विकले जारी गरेकाे बिज्ञप्तीमा महासंघ प्रदेशले अाफ्नाे संगठनका कयाैं सदस्यहरूकाे नाम हटाएकाे र अन्य संगठनकाे पत्रकारितामा क्रियाशील नभै अरूनै पेशा ब्यवसायमा संलग्नहरूकाे नाम समावेश गरी केन्द्रमा सिफारिस पठाएकाे दावी गरेका छन् । उनीहरूले महासंघ प्रदेश समितिकाे निर्णय सच्याउन माग गर्दै यस विषयमा पत्रकार महासंघ जिल्ला शाखाकाे धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

तनहूँमा पनि प्रेस चाैतारीले शुद्धीकरणको नाम दिएर वहुमतको नाममा चौतारी निकट क्रियाशील पत्रकारहरुलाई सदस्यता नविकरण नगरिएको भन्दै असहमती जनाएको छ । प्रेस चाैतारी तनहूँका अध्यक्ष राजकुमार श्रेष्ठ (बीवी) ले जारी गरेकाे विज्ञप्ती नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्जल पौडेललाई वुझाईएको हाे ।