बेसीशहर, फागुन १८ गते । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचार संहिता उलंघन गरेको भन्दै लमजुङका तीनवटा राजनीतिक दलका उमेदवारसंग स्पष्टीकरण सोधेको छ ।
समितिले नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध उमेदवारहरुलाई स्पष्टीकरण सोधेको हो ।
तीन ठूला राजनीतिक दलका उमेदवारले प्रचार प्रसारका क्रममा मोटरसाइकल ¥याली, तथा जिंगल बजाएर प्रचार प्रसार गरेको प्रमाणका आधारमा जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको हो ।
नेपाली कंग्रेस, नेकपा एमाले र रास्वपाका उमेदवारहरु क्रमशः गमप्रसाद गुरुङ, पृथ्वीसुब्बा गुरुङ र धर्मराज के.सी.ले निर्वाचन प्रचार प्रसारका क्रममा गाउँ तथा शहर, सडकमा विभिन्न चुनावी नारासहितका गीत संगीतको प्रयोग गरेको, तोकिए भन्दा धेरै सवारी साधन प्रयोग गरेको, मोटरसाइकल ¥याली निकालेको प्रमाणसहितका उजुरी परेपछि आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको बताइएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय लमजुङमा बसेको सर्वदलीय वैठकले पनि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वैठकमा आचारसंहिता पालना गर्न जनप्रतिनिधि, राजनीतिक दल, र उमेदवारहरु आग्रह गरेको हो ।
वैठकले २०८२ फागुन १८ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि शुरु हुने भएकोले सो अवधिमा निर्वाचन प्रचार प्रसार लगायतका कुनैपनि आचारसंहिता विपरितका क्रियाकलाप कुनै पनि जनप्रतिनिधि, राजनीतिक दल र उम्मेदवारले नगर्ने र नगराउने निर्णय गरेको छ ।
वैठकले आइतबारदेखि नै जिल्लाका विभिन्न मतदान स्थलरकेन्द्रहरुमा मतदान अधिकृत, सुरक्षाकर्मी र कर्मचारीहरु खटिइजाने भएकोले सबै स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दल र उम्मेदवारले मतदान स्थलको निर्माण र सर्वदलीय र सर्वपक्षीय बैठक राख्न तथा शान्तिपूर्ण रुपमा निष्पक्ष निर्वाचन गराउन आ–आफ्नो क्षेत्रबाट निष्ठापूर्वक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै सबै दल र उम्मेदवारले कानून र विधिले तोकिएको योग्यता भएका व्यक्तिलाई तोकिएको संख्यामा निर्धारित समयमै मतदान प्रतिनिधि नियुक्त गरी मतदान अधिकृतलाई निष्पक्ष निर्वाचन गराउने कार्यमा सहयोग गर्ने, सबै दल र उम्मेदवारले मतदान प्रतिनिधि नियुक्ति गर्दा जिम्मेवार र इमान्दार व्यक्तिलाई छनौट गरी नियुक्ति गर्ने निर्णय वैठकले गरेको छ ।
वैठकले मतदान पश्चात मतपेटिका राखेको गाडीमा सम्भव भए मात्र एक राजनीतिक दलले एक जना प्रतिनिधि चढ्ने गरी व्यवस्था गर्ने । गाडीमा स्थान अभावले सो सम्भव हुन नसकेमा प्रतिनिधिले मोटरसाइकल वा अन्य गाडीमा चढी मतपेटिकाको रेकी गर्ने साथै विभिन्न स्थानका साना सवारी साधनबाट ल्याइएका मतपेटिका बसमा मिसाई बेसीशहर ल्याउने क्रममा समेत एउटा राजनीतिक दलको तर्फबाट एक जना प्रतिनिधि मात्रै बसमा रहने गरी राजनीतिक दलहरुले व्यवस्था मिलाउने निर्णय भएको छ ।
वैठकले मतदान हुने दिन मौसम प्रतिकुल भई हावा, हुरी तथा वर्षा हुन गएमा सबै स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दल र उम्मेदवार तथा प्रतिनिधिहरुले मतपेटिकाको सुरक्षा गरी सुरक्षित तवरले सहजतापूर्वक मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतलाई पूर्ण सहयोग गर्ने निर्णय समेत गरेको छ ।
वैठकले मतदान पश्चात मतगणनाको कार्यलाई छिटो शुरु गर्न सबै राजनीतिक दल र उम्मेदवारले यथाशीघ्र मतगणना प्रतिनिधि नियुक्त गरी मुख्य निर्वाचन अधिकृतलाई जानकारी दिने, कानून बमोजिम उम्मेदवार वा राजनीतिक दलले निर्वाचनको दिन एउटा सवारी साधनको मात्र पास प्राप्त गर्ने भएकोले सो गाडीमा उम्मेदवार र निजको प्रतिनिधि र चालक सहित बढीमा ३ जना भन्दा बढी व्यक्ति नचढ्ने व्यवस्था मिलाउने र उम्मेदवारको गाडी मतदाता ओसारपसारको कार्यमा प्रयोग नगर्ने निर्णय भएको छ ।
निर्वाचनका क्रममा सार्वजनिक स्थलमा राखिएका कुनै पनि दलका झण्डा एवं चिन्ह लगायतका प्रचारप्रसारका सामग्रीहरु दल स्वयंले हटाउने, यदि सम्बन्धित दलले नहटाएमा सुरक्षा निकायद्वारा त्यस्ता सामग्रीहरु हटाउने कार्य गर्ने निर्णय पनि वैठकले गरेको छ ।
वृद्ध र अशक्त, अपाङ्ग मत्तदाताहरुलाई मतदान केन्द्रसम्म पुग्न सहयोग गर्ने सम्बन्धमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत सहितको सर्वदलीय एवं सर्वपक्षीय बैठकमा छलफल गरी अन्यावश्यकको हकमा मात्र सवारी साधनको व्यवस्थाका लागि सहजीकरण गर्ने निर्णय वैठकले गरेको छ ।
खबरकुञ्ज