बेसीशहर, चैत १६ गते । नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशन आजबाट बेसीशहरमा शुरु भएको छ । अधिवेशनले नयाँ जिल्ला कमिटीको चयन गर्दैछ ।
अहिले देशैभर नेकपा एमालेको जिल्ला अधिवेशनहरु चलिरहेका छन् । यीमध्ये गण्डकी प्रदेशका जिल्ला अधिवेशनहरुलाई महत्वका साथ हेरिएको छ । गण्डकी प्रदेशमा आफ्नो पक्षको बर्चस्व कायम गराउन केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटीका सदस्य खगराज अधिकारीको टकराबले जिल्ला अधिवेशनको महत्व अरु बढेको हो । लमजुङ उपमहासचिव गुरुङको जिल्ला भएकाले पनि लमजुङको एमाले अधिवेशनले विशेष महत्व पाएको छ ।
लमजुङमा पनि नेकपा एमालेको अधिवेशन मुखैमा आइसकेको छ । आजै पार्टीका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्दै छन् । तर पनि लमजुङको राजनीतिक महोल शान्त छ । गण्डकी प्रदेशकै कास्की लगायतका जिल्लामा अधिवेशन अगावै जिल्ला कमिटीको नेतृत्व लिन गुरुङ र अधिकारी पक्षीय नेताहरुले प्यानल घोषण गरीसकेकामा लमजुङमा भने अहिलेसम्म कुनै पक्षले प्यानल बनाएको खबर छैन । यद्यपी जिल्ला कमिटीको अध्यक्षका लागि दुवै पक्षबाट उठ्ने उमेदवारहरुको भने टुंगो लागिसकेको छ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले एक कार्यकाल पुनः दोहोर्याउन चाहेका छन् । उनलाई रोक्न बेसीशहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्टले कम्मर कसेका छन् । विष्टलाई उपमहासचिव गुरुङको समर्थन रहेको बताइन्छ । कृष्णप्रसाद भने खगराज निकट मानिन्छन् ।
उपाध्यक्ष पदमा सुभाष पौडेलको बढी चर्चा सुनिन्छ । हाल जिल्ला कमिटीका सचिव रहेका पौडेल पनि खगराज प्यानलका हुन् । उपाध्यक्ष पदका लागि हालका उपसचिव जीतबहादुर गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका पूणर्बहादुर गुरुङले पनि सक्रियता बढाएका छन् ।
जिल्ला कमिटीको सचिव पदमा अहिलेका उपसचिव जनकराज मिश्र, राजेन्द्र बोहराको सक्रियता देखिन्छ । मिश्र खगराज प्यानल र बोेहरा पिएस प्यानलका भनेर चिनिन्छन् । उपसचिव पदमा जीवराज घले, कृष्ण केसी, प्रेम भट्टराई, राजेन्द्र अधिकारी, भीमबहादुर बस्नेत लगायतको चर्चा सुनिएको छ । महिला उपसचिवमा पवित्रा थापा राना, राममाया राना र शोभा पन्थीको चर्चा मुख्य छ ।
नेकपा एमाले कास्कीको चैत १४ गते घोषणा भएको निर्वाचन परिणामले कास्कीमा खगराज प्यानललको दबदबा रह्यो । अध्यक्ष पदमा खगराज पक्षीय बैनबहादुर अधिकारी निर्वाचित भए । पृथ्वीसुब्बा प्यानलका माधव वास्तोला २०४ मतले पछि परे । पदाधिकारीमा सबै पाँच पद पनि खगराज पक्षीय प्यानलबाट विजयी भएकामा लमजुङमा कस्तो नतिजा आउँछ त्यो सबै निर्वाचन प्रतिनिधि र एमाले कार्यकर्ताबीच खुल्दुली छ ।
जिल्ला अधिवेशनमा राजनीतिक र सांगठनिक विषयमा छलफलसमेत हुने भए पनि सबैको ध्यान निर्वाचनमै छ । अहिले अधिकांश प्रतिनिधि र कार्यकर्ताले सर्वसम्मतिमा नेतृत्व चयन हुनुपर्ने चाहनासमेत राखेका छन् । अधिवेशनको खुलासत्र सकिएपछि सर्बसम्मतिका लागि प्रयास गर्ने नेताहरुले बताएका छन् । यद्यपी सर्बसम्मति हुन सक्ने अवस्था तत्काल देखिएको छैन ।
नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी सर्वसम्मत वा निर्वाचन दुवै भएको अवस्थामा आफू पुनः अध्यक्ष चयन हुनेमा ढुक्क देखिन्छन् । २०५४ सालदेखि निरन्तर पार्टीमा क्रियाशील रही पूणर्कालीन रुपमा राजनीतिमा लागेका उनी २०५४ मा एमालेबाट तत्कालीन उदीपुर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि प्ररायुसंघ नेपाल लमजुङकाे अध्यक्ष हुँदै, जिल्ला कमिटीकाे सदस्य, झण्डै १२ बर्षसम्म जिल्ला कमिटीकाे सचिव र एक कार्यकाल अध्यक्ष भइ काम गरिसकेका ब्यक्ति हुन्।
सामाजिक क्षेत्रमा उनले १८ बर्ष जनकल्याण मावि उदीपुरकाे अध्यक्ष, ४ कार्यकाल लमजुङ बार इकाइकाे अध्यक्ष र भक्ति आदर्श क्याम्पसकाे सञ्चालक भइ काम गरिसकेका छन् ।
अध्यक्ष पदमा उमेदवारी दिन लागेका अर्का नेता राजकुमार विष्ट हाल पार्टीकाे बेसीशहर नगर कमिटीका अध्यक्ष हुन् । यस अघि उनले प्ररायुसंघकाे जिल्ला अध्यक्ष र एक कार्यकाल जिल्ला कमिटीकाे सदस्य भइ काम गरेका छन् ।