बेसीशहर । जनप्रतिनिधि कस्ताे हुनुपर्छ ? सबैकाे भिन्न भिन्न बिचार हुन सक्छन् । जनताबाट चुनिने प्रतिनधि सुख दुःखमा आफूलाइ सहयाेग गर्ने हाेस् भन्ने आम चाहना हुने गर्छ । तर भाेगाइमा भने दुःख पर्दा फर्केर नहेर्ने प्रबृत्ति देखिन्छ ।
अरूकाे कुरा के गर्नु र ! कतिपय अवस्थामा परिवारका सदस्य र आफन्तहरू नै दुःख परेकाे बेला पीठ फर्काउने गरेकाे देख्न सुन्न पाइन्छ ।
जनताकाे लागि काम गर्ने भन्दै धेरै जना चुनावमा अघि सर्छन्। जनताका पीर मर्का बुझ्ने, दुःख सुखमा साथ दिने आश्वासन पनि दिन्छन् । यही आश्वासनकाे भरपरेर कतिपयले आफूले आस्था राख्ने भन्दा फरक पार्टीका मान्छेलाइ समेत मत दिएर जिताउँछन् । तर जनप्रतिनिधि भइसकेपछि जनताकाे पीर मर्का बुझ्ने, दुःख सुखमा साथ सहयाेग गर्ने भन्दा नमस्कार गर्दा पनि नफर्काउने थुप्रै जनप्रतिनिधि भेटिन्छन् ।

यस्तै जनप्रतिनिधिहरूकाे भीडमा लमजुङमा यस्ता एक जना जनप्रतिनिधि छन्, जाे हिजाे जनतासंग गरेकाे बाचा कबाेल अनुसार काम गरिरहेका छन् । जनताकाे माझमा छन्, सुख दुःखमा साथ दिइरहेका छन् । ती हुन क्व्होलासाेथार गाउँपालिकाका अध्यक्ष सुर्य गुरूङ । उनी गाउँपालिकाकाे विकासका लागि मात्रै हाेइन, जनताकाे दुःख सुखमा पनि त्यतिकै खट्ने गर्छन् । पालिकाभित्र सम्भव भएसम्म काेही नागरिक दुःखमा परेकाे थाह पाएमा घरमै गएर भेट्ने, नभए फाेन गरेर सान्त्वना दिन्छन् उनी ।

गाउँपालिका भित्र कतै पहिराेले सडक अबरूद्ध भयाे भने डाेजरसंगै पहिराे गएकाे सडक पन्छाउन पुग्छन् अध्यक्ष गुरूङ । गाउँ कार्यपालिकाकाे काम बाहेक बिहान बेलुका गाउँकाे विकासका लागि स्थानीयसंग छलफल गर्छन्, गाउँलेहरूलाइ गाउँकाे विकासबारे आफ्ना अनुभव र सपना सुनाउँछन् । गाउँपालिकाकाे सिमित बजेटले सबैकाे चित्त बुझाउन सकेका छैनन्, तर अपजस नआउने गरी दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने जनप्रतिनिधिमा चिनिन्छन् उनी । उनकाे यही स्वभावले विपक्षीहरू समेत नतमस्तक छन् ।
२०८० भदाै २३ गते क्व्होलासाेथार गाउँपालिका वडा नंं २ शैलुङकी फूलमाया भनिने ठगीमाया मगरलाइ सुत्केरी ब्यथा (प्रि टर्म लेबर) ले च्याप्याे । गाउँमा प्रसुति हुनसक्ने अवस्था थिएन । परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाले गाडी रिजर्भ गरेर सदरमुकाम लैजान सक्ने अवस्था पनि भएन । सिकिस्त बिरामी हुँदा बाेक्ने एम्बुलेन्स समेत नपाइने गाउँमा गाडी खाेज्नु पनि त्यस्तै कठीन काम थियाे । सदरमुकाम बेसीशहरबाट एम्बुलेन्स बाेलाउँदा ग्रामीण सडकमा जानै नमान्ने, काेही माने पनि समय धेरै लाग्ने समस्या ग्रामीण भेगका बासीन्दाले भाेगिरहेका छन् ।

सुत्केरी ब्यथाले छटपटाएकी मगरलाइ तत्काल अस्पताल लैजानु पर्ने थियाे । स्थानीय शैलुङ सामुदायिक स्वास्थ्य इकाईका इञ्चार्ज दिनेश विश्वकर्माले याे कुराकाे जानकारी पालिका अध्यक्ष सुर्य गुरूङलाइ गराए । खबर पाएपछि अध्यक्ष गुरूङ गाउँपालिकाकाे अाफूले चढ्ने गरेकाे गाडि लिएर फूलमायाकाे घरमा पुगे । उनलाइ स्ट्रेचरमा राखेर घरबाट गाडीसम्म ल्याइयाे । त्यही गाडीमा राखेर उनलाइ अस्पताल ल्याइयाे । उनलाइ सहयाेग गर्न उनकी भान्जी नाता पर्ने र स्वास्थ्य इकाइका कर्मचारी सीता मगर पनि साथै अस्पताल गए ।
अध्यक्ष गुरूङ आफै बिरामी लिएर जिल्ला अस्पताल पुगेका थिए । बेलुकी सवा ४ बजेतिर फूलमायालाइ अस्पताल पुर्याइएकाे थियाे । ५ बजेतिर अस्पतालमा उनलाइ भर्ना गरियाे । अस्पतालमा सुरक्षित रूपमा ल्याएर बिरामीलाइ भर्ना गर्नुका साथै आवश्यक बन्दाेबस्त मिलाएर उनी मालिङ फर्किए।
बेलुकी ७ः ११ मा अस्प्तालमा फूलमायाले छाेरी जन्माइन् । अस्पतालका अनुसार उनी र नवजात शिशुकाे स्वास्थ्य अवस्था सामान्य छ ।

सामान्यतयाः महिलाहरू गर्भधारण गरेकाे १० महिनामा सुत्केरी हुन्छन् । गर्भमा ३८ देखि ३९ हप्ताकाे गर्भ परिपक्व हुने मान्यता छ । ३७ हप्ता अगावै सुत्केरी ब्यथा लागेमा त्यसलाइ प्रिटर्म डेलिभरी भनिन्छ । फूलमायाकाे सुत्केरी हुनु पर्ने भन्दा अगावै ब्यथा लागेकाे थियाे । चिकित्सकीय भाषामा यसलाइ प्रिटर्म डेलिभरी भनिन्छ । कुनै महिला गर्भावस्थाको ३७ औं हप्ताअघि सुत्केरी हुन्छिन् भने यसलाई समयभन्दा पहिले डेलिभरी वा प्रिटर्म डेलिभरी भनिन्छ । यसरी सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या पनि देखिन सक्छ । प्रसुति तथा स्त्रीराेग बिशेषज्ञ डा. जागेश्वर गाैतम भन्छन्– "नेपालमा नवजात शिशुको मृत्यु हुने मुख्य कारण प्रिटर्म डेलिभरी हो ।"
फूलमायाकाे केस पनि डा. गाैतमले भनेजस्तै थियाे । समयमै अस्पतालमा नलगेकाे भए उनी र गर्भकाे शिशुलाइ खतरा हुन सक्थ्याे । अध्यक्ष गुरूङकाे सुझबुझले फूलमाया र उनकाे नवजात शिशुकाे ज्यान बचेकाे छ । ढिलाे भएकाे भए जे पनि हुन सक्थ्याे ।

दुःख परेकाे बेला सहयाेग गरेर अध्यक्ष गुरूङले फूलमायाकाे परिवारलाइ गुन लगाएका छन् । हुन त जनप्रतिनिधि हुनु नै जनताकाे सेवाका लागि हाे । उनी यसलाइ त्यसरी नै लिन्छन् । भन्छन्– "फूलमाया र नवजात शिशुकाे ज्यान जाेगाउनु थियाे, ढिला भएकाे भए खतरा हुनसक्थ्याे, याे मैले मिडियामा आउला वा प्रचार हाेला भनेर गरेकाे हाेइन । याे मेराे कर्तब्य हाे, त्यही निर्वाह गरेकाे हूँ ।"
अध्यक्ष गुरूङका स्वकीय सचिव गाेपाल गुरूङका अनुसार अध्यक्ष गुरूङ शनिबार पालिका केन्द्र मालिङमै थिए । सामुदायिक स्वास्थ्य इकाइका इन्चार्ज दिनेश विश्वकर्माले फूलमायाकाे अवस्था बताएपछि दिउसाे सवा २ बजेतिर अध्यक्ष गुरूङ गाडी लिएर स्वयं फूलमायाकाे घर पुगेका थिए । उनलाइ गाडीमा राखेर अस्पताल पुर्याउँदा बेलुकी ४ बजिसकेकाे थियाे ।
मिलन शर्मा दनाई