आजबाट बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव २०८१ शुरु हुँदै

खबरकुञ्ज

बेसीशहर, फागुन ६ गते । खेल र कला संस्कृतिको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन भन्ने नाराका साथ आजबाट लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव २०८१ शुरु हुँदैछ ।

महोत्सवको माध्यमबाट खेलकुद तथा पर्यटन प्रबर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउनुको साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ । महोत्सवबाट भएको आम्दानीले बेसीसहरमा रहेको सहजी खेल मैदान विस्तार र स्तरोन्नति गर्ने योजना बनाइएको छ ।

भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको संरक्षण र प्रचारप्रचार गर्न आयोजित महोत्सव यही फागुन १८ गतेसम्म चल्नेछ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे आयोजक समितिका संयाेजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताए ।

महोत्सवको नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज उद्घाटन गर्दैछन् । महोत्सवको उद्घाटन अघि बेसीशहरको शेराबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली बेसीशहर बजार परिक्रमा गर्दै सहजी खेलमैदानमा पुग्नेछ ।

महोत्सवका अबसरमा जिल्लास्तरीय पुरुष तथा महिला भलिबल, विद्यालयस्तरीय कराँते प्रतियोगिता, छेलो तथा स्नुकर प्रतियोगिता, आमा समूहको सामूहिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितिय स्थान प्राप्त गर्नेलाई ३० हजारको साथमा ट्रफि, पदक र प्रमाणपत्र दिइने छ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र द्वितीयलाई नगद ३० हजार ट्रफि, पदक र प्रमाणपत्र दिइने छ ।

कराँतेतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजार राखिएको छ । छेलोतर्फ प्रथम पुरस्कार १५ हजार र द्धितिय पुरस्कार १० हजार राखिएको अध्यक्ष गुरुङले जानकारी दिए । आमासमूहको नृत्यतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्तवना पुरस्कार दुई टिमका लागि ५÷५ हजार तोकिएको छ । स्नुकरतर्फ प्रथम, द्वितय र वेष्ट ब्रेकरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार राखिएको छ ।

खेलकुदसंगै महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रर्दशनी, स्थानीय घरेलु तथा हस्तकला प्रर्दशनी, कृषि, पशु तथा जडीबुटी प्रर्दशनी, साँस्कृतिक झाँकी तथा ¥याली, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुती, बाल उद्यान, पर्यटन प्याकेज टुर जस्ता कार्यक्रम समेत  राखिएका छन् ।

महोत्सवस्थल बेसीसहरको सहजी खेलमैदानमा दुईसय स्टल राखिएका छन् । छ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपियाँ आम्दानी हुने अपेक्षा राखिएको छ । उक्त रकमबाट सहजी खेलमैदानको स्तरोन्नति तथा विस्तारको कार्यक्रम बनाइएको छ । सहजी खेल मैदानको स्तरोन्नतिका लागि केही बर्ष अघि श्रीमद्भागवत महापुराण समेत लगाइएको थियो ।

प्रतिक्रिया