बेसीशहर, पुस २१ । विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबले दोस्रोपटक लगातार त्रिवेणी कपको उपाधि उचालेको छ ।
बेसीशहरको त्रिवेणी रंगशालामा आज सम्पन्न फाइनल खेलमा लाङ्दीदेवी फुटबल क्लव नाल्मालाई शुन्यका विरुद्ध २ गोल गर्दै एपीएफले लगातार दोस्रो पटक त्रिवेणी कप उचालेको हो । यो जीतसंगै एपीएफले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र जितेको छ ।
उपविजेतामा चित्त बुझाएकोे लाङदीदेवी नाल्माले नगद ६ लाखको साथमा रजत पदक र प्रमाणपत्र पाएको छ ।
त्रिवेणी कपको ३२ ओं श्रृंखलामा गत संस्करणमा लमजुङकै वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ को जीत निकाल्दै उपाधि उचालेकोमा यस पटक पनि लमजुङकै लाङदीदेवी एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक त्रिवेणी कप जितेको हो ।
त्रिवेणी कपको फाइनल जित्न एपीएफको जितमा युवराज खड्का र प्रदीप लामा नायक बने । खेलका पहिलो हाप दुवै टीमले गोलरहित बराबरी खेल । तर ७७ औं मिनेटमा एपिएफका लागि युवराज खड्काले खाता खोली टीमलाई अग्रता दिलाएकामा त्यसको लगत्तै ६ मिनेटमा नै प्रदीप लामाले अर्को गोल गर्दै एपिएफको जीतलाई सुनिश्चित गरे
त्रिवेणी कप फुटबलको सेमीफाइनलमा लिग बिजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै फाइनलमा उक्लिएको लाङदीदेवी एफसी र अर्को दाबेदार मानिएको लमजुङ मस्र्याङदी एफसीलाई ट्राइबेकरमा ४–३ ले पराजित गरेको एपिएफको प्रतिस्पर्धा साँच्चै हेर्न लायक थियो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ एपीएफका खेलाडीहरुको बर्चस्व रह्यो । प्रतियोगितामा समान तीन गोल गरेका एपिएफका प्रदिप लामा र समीर थोकर सर्वाधिक गोलकर्ता घोषित भइ नगद २५ हजार पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलकिपर एञ्जल श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित भए । उनीहरु सबैले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाए ।
पुस १२ गतेदेखि शुरु भएको प्रतियोगिता गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको समापन भने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार भब्य समारोहबीच गरे । उनीसहित आयोजक त्रिवेणी युवा क्लव बेसीशहरका अध्यक्ष टेकजंग गुरुङले विजयी टीमका खेलाडीहरुलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मिलन शर्मा दनाई