बेसीशहर, मंसिर २४ गते । देशभर जिल्ला भेलामा जुटेको देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा)ले लमजुङमा पनि जिल्ला भेला गर्ने भएको छ ।
रास्वपा लमजुङको प्रथम जिल्ला भेला यही मंसिर २९ गते बेसीशहरमा आयोजना गरिएको छ । जिल्ला भेलामा सहभागी हुन उक्त पार्टीेले पार्टीका सदस्य, सुभेच्छुक एव सम्पूर्ण लमजुङ जिल्लाबासीहरुलाई अनुरोध गरेको छ ।
भेलाले पार्टीका जिल्ला समिति पुनर्गठन गरी १३ सदस्यीय बनाउने भएको छ । बेसीशहरको शान्तिटोलस्थित गुरुङ समाजको भवनमा हुने जिल्ला भेलाको तयारी शुरु भएको सो पार्टीले जनाएको छ ।
रास्वपा लमजुङले दिएको जानकारी अनुसार जिल्ला भेलामा पार्टीका कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटी प्रमुख बक्ता रहने छन् । यस बाहेक गण्डकी प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला तहका नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहने छ । पार्टीका सदस्य, सुभेच्छुक सबैलाई जिल्ला भेलामा आमन्त्रण गरिएको छ ।

पार्टीको जिल्ला भेलाको तयारी भइरहँदा आगामी जिल्ला समितिको नेतृत्व कसले गर्छ भन्ने कौतुहल कार्यकर्ताबीच जागेको छ । रास्वपाका सदस्यहरुका अनुसार अधिकांश सदस्यहरु पार्टीका जिल्ला संयोजक धर्म केसीले नै जिल्ला समितिको नेतृत्व गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
पढेलेखेका विद्वान, मिलनसार, राजनीतिक चरित्र भएका, छोटो समयमा लमजुङमा रास्वपाको संगठन निर्माणमा भूमिका खेलेका र गएको आम निर्वाचनमा तेस्रो शक्तिको रुपमा पार्टीलाई उभ्याउन सक्षम धर्म केसी नै जिल्ला समितिका सभापति बन्नुपर्ने धेरै कार्यकर्ताहरुको चाहना छ ।
यद्यपी केसीलाई भने पार्टीले केन्द्रमा लैजाने तयारी गरेको बुझिएको छ । उनको योग्यताको कदर गर्दै केन्द्रीय संगठन बिभागमा लैजाने तयारी भएपछि उनले जिल्लाको नेतृत्व हालका उपसंयोजक अशोक सापकोटालाई सुम्पन खोजेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले दुई सदस्यीय जिल्ला समिति छ । जिल्ला संयोजकमा धर्म के.सी. र उपसंयोजकमा अशोक सापकोटा मात्र रहेकामा अब १३ सदस्यीय जिल्ला समिति पुनर्गठन हुन लागेको हो । मंसिर २९ गते हुने जिल्ला भेलाले जिल्ला समितिको अध्यक्ष, उपाध्यक्षा, सचिब, सहसचिब, कोषाध्यक्ष र ८ जना जिल्ला समितिका सदस्य चयन गर्ने छ । यही समितिले आगामी बैशाखमा जिल्ला अधिबेशन गर्नेछ ।
जिल्ला भेला नजिकिदै गर्दा जिल्ला संयोजक कसलाई बनाउने भन्नेमा कार्यकर्ताहरुबीच छलफल शुरु भएको छ । यद्यपी धेरैको चाहना सकेसम्म धर्म केसी नै जिल्ला संयोजक भइदिए हुने भन्नेमा छ । उनी हुन नसके सहसंयोजक सापकोटा नै निर्बिकल्प उमेदबार हुने कार्यकर्ताहरु बताउँछन् ।
खबरकुञ्ज