बेसीशहर, फागुन १३ । मर्स्याङदी करिडोर अन्तर्गत लमजुङ र तनहूँका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको वैठकले साझा हितका सवालमा छलफल गरेका छन् ।
लमजुङको पर्यटकीय गाउँ खासुरमा शनिबार सम्पन्न अन्तरपालिका वैठकले डुम्रे बेसीशहर चामे सडकको स्तरोन्नति, सबै पालिकालाई पायक पर्ने स्थानमा सुविधासम्पन्न अस्पताल तथा विद्युत सबस्टेशन बनाउने र पर्यटन प्रबद्र्धनका लागि साझा प्रतिबद्धता जनाउँदै यी आयोजनाको निर्माणमा आगामी बर्षको बजेटमा समेटने निर्णय गरेको हो ।
वैठकले यस क्षेत्रका स्थानीय निकायले गरेका असल अभ्यासको अनुभव आदनप्रदान गर्ने निर्णय समेत गरेको छ । शिक्षा र कृषि क्षेत्रको सुधारका लागि आगामी वैठकमा प्रतिवेदन पेश गर्ने निर्णय वैठकले गरेको छ । वैठकले शिक्षा समितिको संयोजकमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइराला र कृषि प्रबद्र्धन समितिको संयोजकमा राईनासका उपमेयर पुष्पराज खनाललाई चयन गरेको छ ।
भानु नगरपालिकाका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको वैठकले पर्यटन प्रबद्र्धनसमितिको सदस्य सचिवमा बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाललाई तोक्नुका साथै आगामी वैठक २०८१ बैशाख २९ गते दोर्दी गाउँपालिका लमजुङमा बस्ने निर्णय गरेको छ ।