बेसीशहरमा सुनचाेरीका श्रृंखलाबद्ध घटना, चनाैटेबाट साढे १२ ताेलाका गहना र नगद चाेरी

मिलन शर्मा दनाई

बेसीशहर । गत साउन ३० गत बेसीशहरकाे न्यू इरा बाेर्डिङ नजिकै बालकुमारी घिमिरे र शम्भूप्रसाद घिमिरेकाे घरबाट दिनदहाडै १२ ताेला सुनका गहना चाेरी भएकाे घटना सेलाउन नपाउँदै बेसीशहरकै वडा नं. ६ चनाैटेमा पनि भदाै १ गते राती बिभिन्न घरबाट श्रृंखलाबद्ध रूपमा साढे १२ ताेला सुनका गहना चाेरी भएकाे लमजुङ प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार चनाैटेमा सुनका गहना र केही ब्यक्तिकाे घरमा नगद चाेरी भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकास श्रीमलका अनुसार चनाैटे निवासी सृजना भण्डारीकाे घरबाट साढे ९ ताेला सुनका गहना चाेरी भएकाे छ ।

भण्डारीकाे घरबाट ३ ताेलाकाे सुनकाे रानीहार,१ ताेलाकाे झुम्का सेट, आधा ताेलाकाे सिरबन्दी, २ ताेलाकाे सुनकाे बाला २ थान,१ ताेलाकाे सुनकाे सिक्री १ थान, डेढ ताेलाका तीनवटा औंठी, आधा ताेलाकाे छड्के तिलहरी, २ ताेलाकाे चाँदीकाे कल्ली र १८ हजार पर्ने पञ्चरत्ने बाला चाेरी भएकाे हाे ।

भदाै १ गते राती अज्ञात चाेरले भण्डारीकाे घरकाे ढाेकाे फाेडी गहना राखिएकाे दराजकाे चापीघर फुटाएर चाेरी गरेकाे भेटिएकाे प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

साेही राती बेसीशहर ६ चनाैटेकै ६१ बर्षकी बिष्णुमाया राउतले गलामा लगाइरहेकाे डेढ ताेलाकाे सुनकाे सिक्री र आधा ताेलाकाे सुनकाे औंठी पनि चाेरी भएकाे छ । चाेरले पसलमा रहेकाे नगद ५ हजार ५ सय समेत चाेरेकाे छ ।



साेही राती चनाैटेकै ६७ बर्षया सुर्यकुमारी राउतकाे घरबाट ६० लालकाे सुनकाे औंठी र ५० लालकाे सुनकाे तिलहरी चाेरी भएकाे छ । चाेरले घरकाे ढाेकाकाे कब्जा निकालेर काेठाभित्र पसी काेठामा रहेकाे तीनवटा टिनका बाकसमा रहेका गहना चाेरी गरेकाे भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ । चाेरले बाकसमा रहेकाे नगद ९ हजार समेत भिकेर बाकस घरकाे पछाडि छाेडेकाे थियाे ।

प्रहरीका अनुसार चनाैटेकै ४० बर्षिया कुमारी गुरूङकाे घरमा मानिस नभएकाे माैका छाेपी घरकाे साँचाे फुटाएर नगद ४० हजार चाेरी गरिएकाे छ ।

लमजुङ सदरमुकाम बेसीशहरमा सुनचाेरीका श्रृंखलाबद्ध घटना बढ्न थालेपछि स्थानीयका साथै प्रहरीकाे समेत चिन्ता बढ्न थालेकाे छ ।

सुन चाेरीकाे घटनामा संलग्न भएकाे शंकामा प्रहरीले एकजनालाइ पक्राउ गरेकाे छ ।

प्रतिक्रिया