हातेमालो सहकारी गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीकाे रूपमा पुरस्कृत

खबरकुञ्ज

बेसीशहर, भदौ १ । लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रही लमजुङका विभिन्न स्थानमा सेवा केन्द्र राखेर सञ्चालन भइरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीकाे रूपमा पुरस्कृत भएकाे छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले संस्थाको ३८ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाण्डौंमा आयोजित एक समारोहबीच हातेमालोलाई आर्थिक बर्ष २०८१।०८२ मा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित गर्दै  पुरस्कृत गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले  हातेमालोका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, मुख्य प्रबन्धक हिराबहादुर रावललगायतलाई पुरस्कार प्रदान गरेका थिए ।


२०६८ मा स्थापना भएको हातेमालाे सहकारीका ५ हजार ३६० जना शेयर सदस्य छन् । संस्थाकाे कूल सम्पति ३४ करोड छ । ३ करोड २० लाख ३८ हजार ४०० शेयर पूँजी रहेको संस्थाले गत आर्थिक बर्षसम्ममा २३ करोड  ४२ लाख ३१ हजार बचत संकलन गरी २० करोड ५४ लाख ५९ हजार रूपैयाँ ऋण लगानी गरेको छ ।

लमजुङकाे उत्कृष्ट मानिने याे सहकारीले गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएसंगै हातेमालो सहकारीले सम्मूर्ण शेयर सदस्य, संचालक समिति ,लेखा समिति, विभिन्न उपसमिति ,सल्लाहकार, कर्मचारीहरुका साथै यस अघि  संचालक समिति, लेखा समिति ,विभिन्न उपसमिति सल्लाहकार, कर्मचारीको रुपमा रहि काम गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।

नेफ्स्कूनले संस्थाको स्थापना दिवसका अवसरमा हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ। 

नेफ्स्कूनबाट कोशी प्रदेशको मोरङ जिल्लामा रहेको महाभारत जेफाले साकोस, बाग्मती प्रदेशबाट धादिङमा रहेको बाट श्रोत परिचालन साकोस, मधेस प्रदेशबाट तामागढी साकोस, लुम्बिनी प्रदेशबाट लेकाली स्वाबलम्बन साकोस, कर्णाली प्रदेशबाट डिग्रे साईकुमारी साकोस र सुदुरपश्चिम प्रदेशबाट उत्कृष्ट भइ पुरस्कृत भएका छन् ।

नेफ्स्कूनले गण्डकी प्रदेशबाट गौरीशंकर साकोस पोखराका प्रमुख काार्यकारी अधिकृत डम्बर सिंह बस्नेतलाई प्रदेशको उत्कृष्ट ब्यवस्थापकको रुपमा पुरस्कृत गरेको छ ।

प्रतिक्रिया