बेसीशहर, माघ २४ गते । कालिका सहकारी प्रकरणमा जिल्ला अदालतमा २ लाख ५० हजार धराैटी राखी रिहा भएकी उक्त सहकारीकी पूर्व सञ्चालक तैमाया गुरूङ सम्पती सुद्धिकरण विभागमा १ लाख २५ हजार धराैटी राखी रिहा भएकी छन् ।
सहकारी सम्बद्ध मुद्दामा जिल्ला अदालतले मागेकाे २ लाख ५० हजार धराैटी बुझाएर साेमबार रिहा भए लगत्तै उनलाइ सम्पती सुद्धिकरण मुद्दामा अदालतबाहिरबाट प्रहरीले पक्राउ गरी हिरासतमा लिएकाे थियाे । प्रहरीले मंगलबार उनलाइ सम्पती सुद्धिकरण विभागमा लगेर बुझाएकाेमा विभागले उनलाइ १ लाख २५ हजार धराैटी माग गरेकाे थियाे । साे रकम बुझाएपछि उनलाइ बिभागले मंगलबार नै तारखेमा छाेडेकाे हाे ।
कालिका सहकारी सम्बन्धी मुद्दाकाे अनुसन्धान गरेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (CIB) ले उनले गैरकानुनी रूपमा अकुत सम्पती कमाएकाे हुन सक्ने देखिएकाले सम्पती सुद्धिकरण विभागमा मुद्दा चलाएकाे थियाे ।
पक्राउ परेकी गुरूङ कालिका सहकारी एकीकरण पुर्व साविक सम्पदा सहकारीको संचालक समिति सदस्य र एकीकरण पश्चात बनेको सहकारीकाे महिला समितिकाे सदस्य थिइन् । उनले संस्थामा राखेकाे बचत फिर्ता नपाएकाे भन्दै प्रहरीमा संस्थाका वर्तमान र पूर्व गरी ८ जना सञ्चालक बिरूद्ध प्रहरीमा जाहेरी समेत दिएकी थिइन् ।
तर कालिका सहकारीका अन्य बचतकर्ताले उनी विरूद्धसमेत जाहेरी दिए पछि प्रहरीले उनी विरूद्धसमेत पक्राउ पूर्जी जारी गरेकाे थियाे । प्रहरीले पुर्जी जारी गरे लगतै उनी फारार भएकी थिइन् ।
कालिका सहकारीले सहज रूपमा बचत फिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले विज्ञ खटाई संस्थाकाे बित्तीय बिश्लेषणसहित छानवीन गरेको थियो । उक्त छानवीनकाे प्रतिवेदनमा तैमाया गुरूङले सहकारीमा जम्मा गरेकाे रकमकाे श्राेत नखुलेकाे देखिएकाले उनलाइ सम्पती सुद्धिकरण विभागमार्फत मुद्दा चलाउने राय ब्यक्त गरिएकाे थियाे ।
सम्बन्धित खबर