चेतावनी पछि पनि मर्स्याङदीबेसी टसमस नभएपछि सम्पर्क कार्यालयमा संघर्ष समितकाे तालाबन्दी

खबरकुञ्ज

बेसीशहर, मंसिर २८ । पटक पटकको नम्र आग्रह र त्यसपछिकाे चेतावनी पछि पनि आयोजना टसमस नभएपछि लमजुङ सदरमुकाम बेसीशहरमा बन्न लागेको मर्स्याङदीबेसी जलविद्युत आयोजनाको विरोधमा गठन भएको मर्स्याङ्दी बचाउ अभियानले आयोजनाको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ । 

जलविद्युत आयोजनाले स्थानीयस्तरमा पर्ने नकरात्मक प्रभावका कारण आयोजना बनाउन नहुने भन्दै जनचेतना जगाउँदै आयोजनाको बिरोधमा उत्रिएको मर्स्याङदी बचाउ अभियानका अभियान्ताहरुले आयोजनाको प्रबद्र्धक दिव्यज्योति हाइड्रोपावर लिमिटेडको बेसीशहरस्थित कार्यालयमा आइतबार तालाबन्दी गरेका हुन् ।

बेसीशहरमा यो आयोजनाको ब्यापक विरोध भएको छ । आयोजनाको प्रभावस्थल बेसीशहर नगरपालिकाका ९० प्रतिशत स्थानीयले यो आयोजनाको बिरोध गरेका छन् । आयोजना भने जबर्जस्ती मर्स्याङदी बेसी आयोजना बनाउने तरखरमा छ । यसका लागि आयोजनाले शक्ति केन्द्रहरुमा ठूलो धनराशी खर्च गर्न थालेको र यसकै आडमा बेसीशहर नगरपालिका कार्यालयको आडैमा एकसातादेखि दिब्यज्योति हाइड्रोपावरले सम्पर्क कार्यालय खोलेको छ ।

आयोजना नै बन्द गर्नुपर्ने स्थानीयको मागलाई वेवास्ता गर्दै हाइड्रोपावरको सम्पर्क कार्यालय खुलेपछि आन्दोलनरत स्थानीय क्रुद्ध भएका थिए । यसकै फलस्वरुप आइतबार उक्त कार्यालयमा स्थानीय सरोकारवालाले तालाबन्दी गरिदिएका हुन् । आइतबार अभियानका संयोजक रामबहादुर थापाको नेतृत्वमा संघर्ष समितिका पदाधिकारी तालाबन्दी गर्न त्यहाँ पुगेका थिए ।


आयोजना निर्माणमा जुटे पनि उक्त आयोजनाको प्रबद्र्धकले अहिलेसम्म आवश्यक सबै कानुनी प्रक्रिया पूरा नगरेको संघर्ष समितिले बताएको छ । तालाबन्दीका क्रममा समेत आयोजना हालसम्म कानुनी प्रक्रिया (ड्यु प्रोसेस) पूरा नगरेको, संघर्ष समितिले सूचनाको हकको कानुनको धारा अनुसार माग गरेको सूचना लगायतका महत्वपूर्ण कागजात लामो समयसम्म उपलब्ध नगराएको, वन ऐन २०७६ को दफा ४२ अनुसारको वातावरण संरक्षण र सार्वजनिक सुनुवाइसम्बन्धी प्रावधान पालना नगरेको संघर्ष समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।

बेसीशहरमा झण्डै ४० हजार जनसंख्या बसोबास गर्ने र ९० प्रतिशत अर्थात झण्डै ३६ हजार जनसंख्या यो आयोजनाबाट प्रभावित हुने भए पनि स्थानीय,  स्थानीय सरोकारवाला र प्रत्यक्ष प्रभावित समुदायको सहभागिताबिनै काम अघि बढाउन खोजिएको भन्दै अभियानले आपत्ति जनाएको छ ।

अभियानका सचिव सुरेशकुमार प्रधानले आयोजना जिल्ला र स्थानीयको हितमा नभएकाले जिल्ला प्रशासन कार्यालय, बेसीशहर नगरपालिका र आयोजनाको प्रबद्र्धक कम्पनीलाई समेत लिखित रुपमा आयोजना अघि नबढाउन संघर्ष समितिले आग्रह गरेको बताए । यति गर्दा पनि आयोजनाले काम नरोकेपछि संघर्ष समितिले निर्माणस्थलमा पुगी आयोजनामा निर्माणमा प्रयोग भएका मेसिन तथा उपकरणहरुको चापी खोसी पुन काम अघि नबढाउन चेतावनी दिएको तर अहिले बेसीशहरमै सम्पर्क कार्यालय खोलेपछि कार्यालयमा तालाबन्दी गर्न संघर्ष समिति बाध्य भएको बताए । 

संघर्ष समितिले आयोजना बन्द हुनुपर्ने एकसूत्रिय माग राखेको छ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने र आवश्यक परेमा जुनसुकै परिस्थिति सामना गर्न र परि आए ज्यान दिन पनि संघर्ष समिति तयार रहेको संघर्ष समितिका पदाधिकारीहरुले बताएका छन् ।

बेसीशहर नगरपालिकालाई प्रभावित बनाउँदै बनाउन लागिएको मर्स्याङ्दीबेसी जलविद्युत आयोजना बनेमा मर्स्याङदी नदीको सभ्यता समाप्त हुने, बेसीशहरमा पानीका श्रोत सुक्ने, बाढी पहिरोको जोखिम बढ्ने, धर्म, संस्कृति र संस्कारमा असर पुग्ने, बेसीशहरको प्राकृतिक सौन्दर्य नासिने र जल पर्यटन समाप्त हुने, जलवायु परिवर्तनमा थप असर भई अल्पबृष्टि, अनाबृष्टिको समस्या अरु बढ्ने, स्थानीयको जीविकोपार्जनसमेत खोसिने र समग्र वातावरणमा नकरात्मक असर परी इकोसिष्टममा नै क्षति पुग्ने संघर्ष समितिले बताउँदै आएको छ । । 

बेसीशहर नगरपालिका–६ को बेलौती बिसौनामा बाँध बाधेर वडा नं. १० कोसालडाँडामा विद्युत् गृह निर्माण गर्ने योजनाका साथ ५० मेगावाट क्षमताको मर्स्याङदी बेसी जल विद्युत योजना बन्ने तयारीमा छ ।

प्रतिक्रिया