काठमाडाैं । लामाे समयपछि देशकै ठूलाे पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएकाे छ । कांग्रेसकाे बिधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल आज बैठक बस्ने भएकाे हाे ।
कांग्रेसकाे हिजो पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेकाे थियाे । उक्त बैठकले आज बस्ने केन्द्रीय कार्य समिति बैठककाे कार्यसूची तय गरेको थियाे । कार्यसूचि अनुसार आज बस्ने बैठकले समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र नीति अधिवेशन सम्बन्धमा छलफल हुने तय भएकाे छ ।
त्यस्तै पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीमा समेत छलफल हुने बताइएकाे छ । कांग्रेसकाे केन्द्रीय महाधिवेशन भएकाे ६ महिनाभित्र विभाग गठन हुनुपर्नेमा अहिलेसम्म हुन नसकेकाे अवस्थामा विभिन्न विभागकाे गठन, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदन, प्रतिनिधिसभा र सरकारमा पार्टीको भूमिका विषयमा समेत वैठकमा छलफल हुने बताइएकाे छ ।
केन्द्रीय समितिकाे बैठककाे प्रत्यक्ष प्रसारण पार्टीको आधिकारिक फेसबुक पेजमार्फत गर्ने तयारीसमेत गरिएकाे छ ।