इलमपाेखरीकाे बिकासमा हातेमालाे गर्दै दाेर्दी र दूधपाेखरी गाउँपालिका, सातकन्या देवी मन्दिर निर्माण हुने

मिलन शर्मा दनाई

बेसीशहर, पुस १ गते । लमजुङको धार्मिक एवं पर्यटकीय स्थल ईलम पोखरीको विकासका लागि लमजुङका दुई स्थानीय निकायले मिलेर काम गर्ने भएका छन् ।

दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकाको सिमानामा रहेको इलमपोखरी कुण्ड र त्यहाँ रहेको सातकन्या मन्दिर लगायतका संरचनाहरुको संरक्षण, सम्बर्द्धन गरी त्यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न दुई पालिकाले साझा कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

ईलमपोखरी क्षेत्रका सम्बर्द्धन र प्रवर्द्धनका लागि गत आर्थिक बर्षमा दुवै पालिकाको संयोजनमा ईलमेखरीको बृहत डिपिआर निर्माण गरिएको थियो ।  सोही डिपिआरलाई आधार मानेर दुवै पालिकाले संघीय सरकारसंगबजेट माग गरेका थिए ।

संघीय सरकारले चालु आर्थिक बर्षका लागि ईलमपोखरी ताल तथा स्तुपा निर्माण शिर्षकमा सङ्घीय सशर्त अनुदान मार्फत ४५ लाख बजेट बिनियोजन गरेको छ । यो बजेट कार्यान्वयनका सन्दर्भमा दुवै पालिकाले अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छ बहादुर घलेसहित दुबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,स्थानीय बुद्धिजीवि लगायतको उपस्थिति थियो ।


अन्तरक्रियामा डिपिआर अनुसार त्यस स्थानमा नयाँ संरचनाहरु निर्माण गर्दा १० करोड भन्दा बढी लागत लाग्ने भएकाले प्रारम्भिक चरणमा जीर्ण अवस्थामा रहेको सातकन्या देवि मन्दिर निर्माण गर्ने निर्णय भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।


डिपिआर अनुसार सातकन्या देवी मन्दिर यस्ताे बन्नेछ । 

डिपिआर अनुसार उक्त मन्दिर निर्माण गर्न मात्रै ७५ लाख बजेट आवश्यक पर्ने र यस बर्ष संघीय सरकारबाट प्राप्त ४५ लाख बजेट र अपुग हुने भए पनि थप आर्थिक स्रोत जुटाएर निर्माण सम्पन्न गरिने दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताए ।

अन्तरक्रियाले मन्दिर निर्माणका लागि मीनबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकाका सामाजिक कार्यमा क्रियाशील समाजसेवीहरु समितिमा रहेका छन् । 

इलम पोखरी ताल संंरक्षणका लागि यसै आर्थिक बर्षका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको ताल संरक्षण तथा विकास प्राधिकरणबाट ८ लाख ३० हजार बजेटसमेत विनियोजन भएको छ । सो बजेटले इलपोखरीको संरक्षणका लागि आवश्यक थप कार्यहरु गरिने बताइएको छ ।

हाल ईलमपोखरीमा लाग्ने मेला, उत्सवहरु ब्यवस्थापन र अन्य कामका लागि दोर्दी र दूखपोखरी गाउँपालिकाले विगत देखि नै काम गर्दै आइरहेका छन् । चालु आर्थिक बर्षका लागि पनि ती पालिकाले त्यहाँ खानेपानी योजना र पार्किङ स्थल निर्माण गर्न २/२ लाख बजेट विनियोजन गरेका छन् ।

प्राकृतिक रुपमा रमणीय र धार्मिक रुपले महत्वपूर्ण इलमपोखरीमा बर्षेनी सयौं आन्तरिक तथा वाह्य पर्यटकहरु पुग्ने गर्छन् । बिशेष गरी बैशाख पूर्णिमा, जनै पूर्णिमा लगायतका मेला पर्वमा यहाँ मेला भर्नेहरुको घुइँचो लाग्छ । लमजुङका विभिन्न भागबाट आन्तरिक पर्यटकहरु यहाँ घुम्न आउँछन् । ईलमपोखरी हुँदै लिपेलेक घुम्न सयौं आन्तरिक पर्यटक जाने गर्छन् । नेपालकै प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्ने सम्भावना बोकेका लिपे लेकसहित ईलमपोखरी, खास्टेपोखरी, मेमेपोखरी, दूधपोखरी लगायतका धार्मिक एवं पर्यटकीय सम्पदाको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय युवा क्लव, आमा समूह र बाबा समूहले समेत उल्लेख्य काम गर्दै आएका छन् । 


प्रतिक्रिया