लमजुङमा झण्डै ५५ प्रतिशत मत खस्याे, मतपेटिका संकलन हुँदै

खबरकुञ्ज

बेसीशहर, फागुन २१ । आजको निर्वाचनमा लमजुङमा झण्डै ५५ प्रतिशत मत खसेको छ । लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले ५४.७६ प्रतिशत मत खसेको जानकारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत ढकालका अनुसार कूल १ लाख ३७ हजार १२४ मतदाता रहेकाे लमजुङमा ७५ हजार ८५ मत खसेकाे छ । जसमध्ये ३८ हजार ८५६ जना महिला (५५.८९ प्रतिशत) र ३६ हजार २२९ पुरूष मतदाता (५३.५९ प्रतिशत)ले मतदानमा भाग लिएका मुख्य निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

उनले जिल्लाभर शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको र मतदानका क्रममा जिल्लाका कुनै पनि मतदान केन्द्रमा कुनै किसिमको अबाञ्छित क्रियाकलाप नभएको जानकारी दिए । उनले भने–“अहिले मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ । सबै मतपेटिका संकलन भएपछि भाेलिबाट मतगणना हुन्छ ।”


मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले विभिन्न मतदनस्थलबाट ल्याइएका मतपेटिका थन्क्याउने माचो छ । पक्की सडक सञ्जालसंग जोडिएका र सदरमुकाम नजिकका मतदान केन्द्रबाट मतपेटिका आइपुगेका छन् । जिल्लाका दुर्गम क्षेत्रहरुबाट सबै मतपेटिका सदरमुकाम आइपुग्न राती १२ बजेसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत ढकालले भोलि बिहान ८ बजे सर्वदलीय वैठक बस्ने र वैठकले मतगणना सम्बन्धी निर्णय गर्ने बताए ।

लमजुङका दुर्गम क्षेत्र दूधपोखरी, सिङदी लगायतका स्थानबाट मतपेटिकाहरु सुरक्षाकर्मीको कडा सुरक्षाबीच सदरमुकामतर्फ ल्याइँदैछ ।




प्रतिक्रिया