काेशीमा फेरि सरकार बनाउन सभामुखकाे राजीनामा गराउँदै गठबन्धन

काठमाडाैं । सर्वाेच्च अदालतकाे आदेशले काेशी प्रदेशकाे मुख्यमन्त्रीसहित सरकार नै गुमाएकाे सत्तारूढ गठबन्धनले सरकार बनाउन प्रदेशका सभामुख बाबुराम गौतमलाइ पदबाट राजीनामा गराउने भएकाे छ। मुख्यमन्त्रीमा पुनः दाबी गर्न गठबन्धनमा बहुमत पुर्‍याउन सभामुख गाैतमले आज राजीनामा दिँदै छन्।

गठबन्धन केन्द्रकाे निर्णय अनुसार सभामुख गौतमले प्रदेश सभा सचिवालयमा आजै राजीनामा बुझाउने तयारी रहेकाे श्राेतले बताएकाे छ ।

काेशीका प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न आज अपराह्न ५ बजे सकिने भएकाले र बहुमतका लागि सभामुखकाे राजीनामा अपरिहार्य भएपछि गाैतमकाे राजीनामा हुन लागेकाे हाे । 

यस अघि कांग्रेस संसदीय दल नेता उद्धव थापाले मुख्यमन्त्रीमा दावी पेश गर्दा सभामुख गौतमकाेसमेत हस्ताक्षर प्रयाेग  गरेका  थिए । काेशी प्रदेशमा बहुमत गुमाएर बाहिरिएका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखकाे हस्ताक्षर प्रयाेग गरि सरकार गठन भएकाेमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । रिटकाे सुनुवाइ गर्दै सर्वाेच्चले मुख्यमन्त्री थापाकाे नियुक्ति बदर गरिदिएकाे थियाे ।

यसपछि प्रदेश प्रमुख खापुङले पुनः नयाँ सरकार गठनका लागि आज बेलुका ५ बजेसम्मकाे समय  दिएका थिए । अब सभामुख गाैतमले राजीनामा दिएपछि गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्छ।

अहिले काेशी प्रदेश सभामा नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद छन् । सभामुखले राजीनामा दिएमा बहुमतका लागि चाहिने ४७ सिट पुग्छ ।

काेशीमा कसकाे नेतृत्वमा सरकार बनाउने भन्ने गठबन्धनबीच विवाद छ । यद्यपी कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः मुख्यमन्त्री बन्ने लगभग पक्का छ।

प्रतिक्रिया