टोखालाई सडन डेथमा स्तब्ध पार्दै बीवाइसी भोटेओडार त्रिवेणी कपकाे फाइनलमा

खबरकुञ्ज

बेसीशहर, पुस १९ । बेसीशहरमा जारी ३२ औं त्रिवेणी कपको उपाधिका लागि विभागीय टीम एपिएफ र बीवाइसी भोटेओडार भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमीफाइनल खेलमा टोखा भगवती फुटबल क्लवलाई सडन डेथमा स्तब्ध पार्दै बीवाइसी भोटेओडार र आयोजक त्रिवेणी युवा क्लवलाई पराजित गर्दै  एपिएफ क्लव प्रतियोगिताको फाइनलमा प्रबेश गरेका हुन् ।


शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा टोखा भगवती विरुद्ध बीवाईसी भोटेओडारले रोमाञ्चक जीत हात पारेको छ । यो जीतका लागि बीवाइसीले निकै संघर्ष गर्नु प¥यो । निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि ट्राइबेकरका आधारमा खेल खेलाइएकोमा ट्राइबेकरमा ५–४ को नतिजा निकाल्दै बीवाइसीले उपाधिमा दावेदारी प्रस्तुत गरेको हो ।

खेलमा बीवाइसीका गोलरक्षक कृषल मोक्तान म्यान अफ दि म्याच घोषित भए ।

यस अघि शुक्रबारै भएको पहिलो सेमीफाइनल खेलमा आयोजक त्रिवेणीलाई २–१ गोल अन्तरले पराजित गर्दै विभागीय टीम एपिएफ क्लव फाइनलमा पुगेको थियो ।

प्रतियोगिताको फाइनल शनिबार दिउसो १ बजे सहजी रंगशालामा हुनेछ ।

गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको विजेताले त्रिवेणी कपका साथमा नगद १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् । 


प्रतिक्रिया