त्रिवेणी कपकाे उपाधिका लागि एपिएफ र बीवाइसी भिड्दै, कसले मार्ला बाजी ?

खबरकुञ्ज

बेसीशहर, पुस २० । बेसीशहरमा जारी ३२ औं त्रिवेणी कपको उपाधिका लागि आज नवप्रवेशी विभागीय टीम एपिएफ र दुई पटकको च्याम्पियन बीवाइसी भोटेओडार भिड्दै छन् ।

गण्डकी प्रदेशकै सम्मानित र सर्वाधिक पुरस्कार राशी भएको यो प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न दुवै टीम तयारी अवस्थामा छन् । सहभागी १६ टीममध्ये अब्बल बन्दै फाइनल प्रवेश गरेका एपिएफ र बीवाइसीमध्ये कसले उपाधि हातपार्ला त ? फुटबल प्रेमीहरुबीच कौतुहल छ ।

विगत तीन दशकदेखि निरन्तर सञ्चालन भइरहेको यो प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लवल पहिलो पटक सहभागिता जनाएको हो । जारी प्रतियोगिताको प्रि क्वार्टर फाइनलमा सामना युथ क्लव तनहू, क्वार्टर फाइनलमा मच्छिन्द्र क्लव काठमाडौं र सेमीफाइनलमा आयोजक त्रिवेणी युवा क्लवलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको एपिएफ प्रतियोगिताको सशक्त दावेदार हो ।

त्यस्तै त्रिवेणी कपमा आफूलाई पटक पटक सावित गरिसकेको बुद्ध युथ क्लव भोटेओडार लमजुङको अर्को सशक्त टीम हो । यस अघि यो टीमले दुई पटक सम्म त्रिवेणी कप उचालि सकेको छ । प्रि क्वार्टर फाइनलमा बेसीशहरको मस्र्याङदी युथ क्लबलाई, क्वार्टर फाइनलमा त्रिभुवन आर्मीलाई र सेमीफाइनलमा टोखा भगवती क्लव काठमाडौंलाई पराजित गरेर बीवाइसीले उपाधिका लागि दावेदारी प्रस्तुत गरेको छ ।

आजको फाइनल खेल दिउसो १ बजे बेसीशहरको सहजी रंगशालामा हुँदै छ । प्रतियोगिताको विजेताले उपाधिसंगै त्रिवेणी कप र नगद १२ लाख प्राप्त गर्नेछ । उपविजेताले नगद ६ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया